शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन Ramaroshan
२०८२ फाल्गुन ०६ गते
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन मातहतका सबै निकायलाई स्पष्ट निर्देशन दिएका छन । मंगलबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित उच्चस्तरीय बैठकमा विभागीय मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

बैठकमा मुख्यमन्त्री शाहले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु प्रदेश सरकारको समेत दायित्व भएको उल्लेख गर्दै सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । ‘निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो, यसलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्छ’ उनले भने । निर्वाचनको सन्दर्भमा प्रदेश सरकार पूर्ण रूपमा सहयोगी र प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले कुनै पनि प्रकारको लापरबाही सहन नहुने चेतावनी दिए ।

संघीय सरकारले निर्वाचनका लागि आवश्यक संयन्त्र परिचालन गरिसकेको र निर्वाचन सामग्रीसमेत सम्बन्धित जिल्लाहरूमा पुगिसकेको जानकारी दिँदै मुख्यमन्त्री शाहले प्रदेशस्तरबाट सुरक्षाको प्रत्याभूति दिन निर्देशन दिए । विशेषगरी संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्थालाई कडा बनाउन, मतदाता तथा कर्मचारीलाई सुरक्षित वातावरण सुनिश्चित गर्न र अफवाह नियन्त्रणका लागि सूचना प्रवाह प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो तयारी अवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले निर्वाचन अवधिभर संयुक्त गस्ती, निगरानी र आकस्मिक प्रतिकार योजनालाई सक्रिय बनाइने बताएका छन् । प्रमुख जिल्ला अधिकारीले पनि जिल्ला सुरक्षा समितिमार्फत आवश्यक रणनीति तय गरिसकेको जानकारी गराएका थिए । यसैबीच बैठकले फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ लाई भव्य रूपमा मनाउने निर्णयसमेत गरेको छ । दिवसका अवसरमा मुख्यमन्त्री शाहको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रदेशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा सजाउने, बेलुका दीप प्रज्वलन गर्ने तथा सञ्चार माध्यममार्फत शुभकामना सन्देश प्रसारण गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, धनगढीमा पृथ्वीनारायण चोकदेखि शहिद स्मारक चटकपुरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा बल, विद्यार्थी, संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ । बैठकमा सहभागी मन्त्री, सचिव तथा सुरक्षा अधिकारीहरूले प्रदेश सरकारको निर्देशन कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएका छन् । निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ गरिने निष्कर्ष बैठकले निकालेको छ ।