बालविवाह अन्त्य गर्न पञ्चदेवल नगरपालिकामा घनीभूत छलफल

बालविवाह अन्त्य गर्न पञ्चदेवल नगरपालिकामा घनीभूत छलफल Ramaroshan
२०८० श्रावण १२ गते
बालविवाह अन्त्य गर्न पञ्चदेवल नगरपालिकामा घनीभूत छलफल

अछाम : बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशाला विनायकमा सम्पन्न भएको छ । 

बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि सरोकारवालाहरू बिच दुई दिन घनिभूत  छलफलका साथ कार्यशाला शनिवार सम्पन्न भएको हो । 

आस्था नेपाल,वल्ड्र भिजनको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा बालविवाह अन्त्य गर्ने रणनीतिमाथि सरोकारवालाहरूले कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

`दक्ष र सभ्य जनशक्ति निर्माणको सुनिश्चितता, बालबालिकामा लगानी हाम्रो प्रतिबद्धता´ भन्ने मूल नारालाई आत्मसात् गर्दै वि.स. २०८३ साल सम्म नगरपालिकालाई नै बालविवाह मुक्त पालिका घोषणा गर्ने लक्ष्य सहित रणनीतिक याेजनाकाे मस्यौदा तयार गरिएको छ ।

आस्था नेपालका केन्द्रीय महासचिव  निराजन शाहले सामाजिक रूपान्तरणका थुप्रै कार्यक्रम लागु गर्ने बताएका छन् । पालिका स्तरमा भइरहेका साझेदार सङ्घसंस्थाहरूका कार्यक्रममा गैरसरकारी सङ्घसंस्थाहरू द्वारा सञ्चालित रूपान्तरणका कार्यसम्पादनमा प्रदेश तथा स्थानीय सरकार उत्तरदायी नबनेको प्रति उनले दुख व्यक्त गरे । स्थानीय तहले प्रत्यक्ष निरीक्षण गरी आवश्यक सुझाव तथा निर्देशन दिन समेत आग्रह गरे । 

महासचिव शाहको अध्यक्षतामा सुरु भएको समापन सत्रमा पञ्चलेवल विनायक नगरपालिकाका का. नगर प्रमुख हर्क बहादुर रावल प्रमुख अतिथि रहेका थिए । 

नगर उप प्रमुख समेत रहेका प्रमुख अतिथि रावलले बालविवाह हुनुको मुख्य समस्या गरिबी र अशिक्षा रहेको बताए । 

विशेष गरी अभिभावकले आफ्ना बालबालिकालाई २० वर्ष नपुगी मोबाइल फोन नदिने रणनीति बनाउन आवश्यक रहेको औँल्याएका छन् । 

बालविवाह न्यूनीकरणका लागि अभिभावक तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरू जिम्मेवार भएर  लाग्न सुझाव दिएका छन् ।

बालविवाह अन्त्यका लागि सबै सरोकार पक्ष एक जुट भएर लाग्नु पर्ने उपप्रमुख रावलको जोड छ ।

बालविवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल तथा,बालमैत्री स्थानीय शासनका विषयमा फ्यूचर नेपालका राम प्रसाद दाहाल र सुशील राज गिरीले तालिमको सहजीकरण गरेका हुन् । 

सन् २०३० सम्म देशलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिइएको छ ।

बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी कार्यक्रम प्रभावकारी भएको र यस कार्यक्रम बाट निकट दिनमै आशा लाग्दो प्रतिफल आउनेमा आफू विश्वस्त रहेको आस्था नेपालका खकेन्द्र उपाध्यायले जानकारी दिए ।