काठमाडौँ । एसिया कपका लागि पाकिस्तानमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सबै नेपालीबाट टिमप्रति ठूलो अपेक्षा रहेको बताएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोहितले एसिया कप नेपालका लागि विशेष अवसर भएको पनि बताए ।
“नेपालमा हामीबाट ठूलो अपेक्षा छ । सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन् । हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ । र, एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो,” रोहितले भने, “हामी पहिलो पटक एसिया कप खेलिरहेका छौँ । यो हामी सबैका लागि ठूलो उपलब्धि हो । यो हाम्रा लागि विशेष अवसर हो । पाकिस्तान निकै राम्रो टिम हो र हामी उनीहरूलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौँ, भारतविरुद्ध पनि । हामी यहाँका लागि योग्य थियौँ । त्यसैकारण आज यहाँ छौँ । भोलिको खेलमा उनीहरूसामु चुनौतीपूर्ण खेल पस्किने छौँ ।”
उनले नेपाल र पाकिस्तानको टिमबीच अनुभवमात्र फरक भएको प्रतिक्रिया दिए । “यी दुई टिमबीचको फरक भनेको अनुभव हो । स्किलका आधारमा दुवै टिम उस्तै छन् । तर, अनुभवका आधारमा पाकिस्तान अनुभवी टिम हो । यो नै एकमात्र फरक हो,” रोहितले भने, “भारत र पाकिस्तान दुवै टिमसँग उत्कृष्ट खेलाडी छन् । हाम्रो लक्ष्य भनेको एक बलको लडाइँमा जित निकाल्नु हो । विपक्षी जो भए पनि हामी एक बलको लडाइँमा केन्द्रित छौँ ।”













