इरानलाई परमाणु वारहेड दिन रुस तयार, युद्ध झनै भयानक हुने खतरा

इरानलाई परमाणु वारहेड दिन रुस तयार, युद्ध झनै भयानक हुने खतरा Ramaroshan
२०८२ असार ०९ गते
इरानलाई परमाणु वारहेड दिन रुस तयार, युद्ध झनै भयानक हुने खतरा

 धनगढी,९ असार । अमरिकाले इरानका परमाणु ऊर्जा संयन्त्रलाई निसाना बनाएपछि रुसले कडा प्रतिक्रिया दिएको छ । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले अमेरिकालाई चेतावनी दिँदै अब केही देश इरानलाई सिधा आफ्नो परमाणु वारहेड दिन तयार रहेको बताएका छन् ।

मेदभेदेवले एक्समा लेख्दै अमेरिकी हमला असफल भएको र इरानको परमाणु संरचना सुरक्षित रहेको समेत दाबी गरेका छन् । मेदभेदेवले यो हमलाले अब इरानको परमाणु महत्त्वाकांक्षालाई रोक्नुको साटो झनै तीव्र पार्नेसमेत उल्लेख गरेका छन् ।

 उनले अमेरिकाको सैन्य र कूटनीतिक रणनीति उल्टो परेको भन्दै इरानको सत्ता झनै बलियो बन्ने बताएका छन् । युक्रेन युद्धमा रुसलाई ठूलो मात्रामा ड्रोन, मिसाइल र अन्य हतियारले सहयोग गरेको इरानलाई इजरायलविरुद्धको युद्धमा रुसले सहयोग गरेमा युद्ध झनै भयानक हुने खतरा हुन्छ ।

इरानले इजरायलमाथि सोमबार पनि १५ भन्दा बढी ब्यालिस्टिक मिसाइलले हमला गरेको छ । करिब ४० मिनेटमा इरानले इजरायलमाथि लगातार मिसाइल प्रहार गरेको हो । इरानले इजरायलका सफेद, तेल अभिभ, अश्कलोन, अशदोद र बेइसन शहरमा रकेटले निसाना बनाएको जनाएको छ । इरानी हमलापछि इजरायलका केही शहरमा विद्युत् आपूर्ति ठप्प भएको छ ।

इजरायल इलेक्ट्रिक कर्पोरेसनले एक रणनीतिक संरचनामा हमला गरेको र शहरमा विद्युत् आपूर्ति ठप्प भएको पुष्टि गरेको छ । इरानले इजरायली सेनासँग सम्बन्धित कम्पनीमा साइबर हमलासमेत गरेको छ । यसबाट इजरायलका प्रमुख सैन्य र परमाणु अड्डाबारे जानकारी प्राप्त भएको र भविष्यमा हमला गर्ने सम्भावित स्थान भएको इरानले जनाएको छ ।