२२ नेपाली युवाको भारतमा उद्धार

२२ नेपाली युवाको भारतमा उद्धार Ramaroshan
२०८२ असार ०९ गते
२२ नेपाली युवाको भारतमा उद्धार

 धनगढी,९ असार ।  भारतको उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा बन्धक बनाइएका २२ जना नेपालीको उद्धार गरिएको छ। स्थानीय सामाजिक संस्था र प्रहरीको सहयोगमा आइतबार उनीहरूको उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार अहिलेको २२ जनासँगै उद्धार हुनेको संख्या ५७ पुगेको छ। उत्तराखण्ड राज्यस्थित रुद्रपुरमा डेढ सयदेखि २०० सम्म नेपालीलाई एउटा गिरोहले बन्धक बनाएको सूचना आएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो।

 गिरोहले आकर्षक रोजगारीको प्रलोभन देखाई नेपालीलाई भारतको रुद्रपुर पुर्‍याएर बन्धक बनाउँदै रकम असुल गर्ने गरेको खुलेको थियो। गिरोहले बन्धक बनाएका एक नेपाली भागेर स्थानीय एनजीओमार्फत नेपाली दूतावास आउन सफल भएपछि यो खुलेको थियो।

गत असार ५ गते रुद्रपुर नजिकैको भारतीय सहर काशीपुरबाट यसैगरी बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूलाई स्थानीय एनजीओ र प्रहरीको सहयोगमा उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये केही नेपाली युवा १० महिनादेखि बन्धक थिए । पीडितसँग गिरोहले १२ हजार देखि ५० हजार भारतीय रुपैयाँसम्म उठाउने गरेको पीडितहरूले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन्।