कैलालीमा वडाध्यक्षले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलालीमा वडाध्यक्षले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु Ramaroshan
२०८२ फाल्गुन ०६ गते
कैलालीमा वडाध्यक्षले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी / कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ की अन्दाजी ३३ वर्षीया ईप्सा चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर चौधरीलाई उपचारका लागि धनगढी ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

वडा अध्यक्ष बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरित दिशाबाट आउँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल मंगलबार कैलारीकै हसुलियास्थित इलाका प्रहरी कार्यालय नजिक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा ४० वर्षीय वडा अध्यक्ष बमसहित कैलारी गाउँपालिका–७ भुइँयाफाँटाका ५० वर्षीय ताराप्रसाद चौधरी, ३१ वर्षीय कमलेस चौधरी र ३४ वर्षीय बलिराम चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। वडा अध्यक्षले अत्यधिक मापसे सेवन गरेर गाडी चलाएको आरोप लगाइए पनि स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछिमात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।