जेन्जीका आवाजलाई नीतिमा परिणत गर्न प्रतिबद्ध छुः मनु  

जेन्जीका आवाजलाई नीतिमा परिणत गर्न प्रतिबद्ध छुः मनु   Ramaroshan
२०८२ फाल्गुन ०७ गते
जेन्जीका आवाजलाई नीतिमा परिणत गर्न प्रतिबद्ध छुः मनु  

कैलाली / प्रतिनिधि सभा निर्वाचन, कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेस उम्मेदवार नर नारायण शाह ‘मनु’ यतिबेला चुनावी घरदैलो अभियानलाई तीव्र बनाईरहेका छन् । विशेषगरी युवापुस्ताको मुद्दा, रोजगारी, सूचना प्रविधि र उद्यमशीलतालाई केन्द्रमा राख्दै उनले “जेन्जीका आवाजलाई नीतिमा रूपान्तरण गर्ने” प्रतिबद्धता व्यक्त गरेका छन् । घरदैलो, टोलभेला र भेटघाटका क्रममा युवा मतदाताले रोजगारी अभाव, विदेश पलायन, डिजिटल अवसरको कमी, लागूपदार्थ दुव्र्यसन जस्ता मुद्दा जोडतोडले उठाईरहेका छन् । कतिपयले आक्रोस पनि पोखेका छन् ।

तर उम्मेदवार शाह भने ती गुनासा विनम्रतापूर्वक सुन्दै “झुटा वाचा नगर्ने, गर्न सकिने मात्रै प्रतिबद्धता गर्ने” अडानमा देखिएका छन् । “जेन्जीको आवाजलाई नीतिमा परिणत गर्नु आजको आवश्यकता हो । युवालाई विदेश पठाउने होइन, स्वदेशमै अवसर सिर्जना गर्ने मेरो प्राथमिकता हो ।” कैलाली क्षेत्र नम्बर ५ का नेपाली काग्रेंसका उम्मेदवार नर नारायण शाह ‘मनु’ भन्छन्, “आधुनिक सूचना प्रविधि पार्क स्थापना गरी युवालाई आईटी, डिजिटल सीप र स्टार्टअपसँग जोड्नेछु ।

युथ डाईलग र ईन्नोभेसन प्ल्याटफर्म मार्फत युवाको विचार सिधै नीति निर्माण प्रक्रियामा पु¥याउनेछु । युवा–मैत्री रोजगारी नीति निर्माणका लागि संसदमा सशक्त आवाज उठाउनेछु ।” युवालाई स्वरोजगार बनाउन तालिम, सीप, उद्यमशीलता विकास कार्यक्रम तीनै तहका सरकारसँग समन्वय गरेर सञ्चालन गरिन उनको भनाई छ । लागूपदार्थ दुव्र्यसन रोकथामका लागि अभिभावक, विद्यालय र प्रशासनसँग सहकार्यमा अभियान चलाउने योजना पनि मनुको रहेको छ ।

उनले मतदाताहरुलाई आफ्ना योजना र प्रतिबद्धता मार्फत मत मागिरहेका छन् । तर उनले गर्न नसकिने कामहरुको आश्वासन दिन नसक्ने अडान राख्दै आएका छन् । कैलाली क्षेत्र नम्बर ५ मा यस पटकको चुनावी बहस विकाससँगै “युवा भविष्य” वरिपरि केन्द्रित देखिएको छ । पूर्वाधार, स्टार्टअप ईकोसिस्टम, स्वरोजगार, दुव्र्यसन नियन्त्रण र युवा–मैत्री नीति निर्माणका एजेन्डा अघि सार्दै उम्मेदवार नर नारायण शाह ‘मनु’ मतदातामाझ पुगेका छन् ।