पर्यटनले विकास केन्द्रित काम गर्छ – मन्त्री चौधरी

पर्यटनले विकास केन्द्रित काम गर्छ – मन्त्री चौधरी Ramaroshan
२०८२ जेठ २० गते
पर्यटनले विकास केन्द्रित काम गर्छ – मन्त्री चौधरी

 धनगढी,२० जेठ ।  सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीले पर्यटन क्षेत्रमार्फत् विकास केन्द्रित काम गर्ने बताएका छन् । धनगढीमा भएको प्रकृतिप्रेमीका आँखामा सुदूरपश्चिम कार्यक्रममा बोल्दै मन्त्री चौधरीले चाँडै विज्ञलाई पर्यटन फोकल पर्सन बनाउने समेत बताए । उनले खप्तड, वडीमालिका, रामारोशन जस्ता पर्यटकीय क्षेत्रको विकास लागि नयाँ तरिकाले काम हुने क्रममा रहेको जानकारी दिदै कैलालीको भजनी तथा टीकापुर क्षेत्रको मोहना र कर्णाली नदीमा भेटिने डल्फिनलाई ध्यान दिएर डल्फिन पार्क बनाउन सम्भाव्यता अध्ययन गरिने बताए ।

पर्यटन क्षेत्रमा प्रदेश सरकारले ध्यान दिन पर्ने बताउदै अहिलेको कुरा गर्ने हो भने मन्त्रालयसँग रहने ५५ करोडले पर्यटन र उद्योगको प्रर्वद्धन गर्न कठिनाई भएको उनको भनाई छ । उनले पर्यटनमा बजेट बढाउन मुख्यमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरिरहेको पनि बताए ।

हामीले भारत र चीनका पर्यटक ल्याउन सकेनौ भन्दै चिन्ता जाहेर गर्नुभएका मन्त्री चौधरीले भारतबाट आउने पर्यटकलाई ट्राफिक प्रहरीले दुःख दिने गरेको चर्चा गरे । सो अवसरमा बोल्दै सो मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सुदूरपश्चिम प्रदेशमा माउन्टेन फ्लाइट, केवुलकार र इको पर्यटनमा पनि ध्यान दिन जरुरी रहेको बताए ।

प्रदेश सभा सदस्य डा जोशी, एमालेका प्रमुख सचेतक चक्र मल्ल, पर्यटन व्यवसायी मायाप्रकाश भट्ट लगायतले अहिलेको अवस्थामै मन्त्रालय रहँदा पर्यटन क्षेत्रको विकास नहुने बताए । अलग मन्त्रालय बनाउन सकिएन भने उपसचिवको जिम्मामा पर्यटन क्षेत्र राखिनु पर्नेमा पनि केही सहभागीले जोड दिएका थिए।

सो कार्यक्रममा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिमलाई देव भूमी, प्राकृतिक सुन्दरता, संस्कृति लगायतको क्षेत्रका रुपमा परिचित बनाउने गरेर काम गर्न जरुरी भएको बताए । सो अवसरमा प्रदेशका पूर्वमन्त्री सन्तोष शर्मा थापा, अक्कल रावल, नरेश शाही, टीका थापा लगायतले सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासका लागि सबै जुट्नु पर्ने , सके राम्रो गर्ने नसके विगार्न नहुने धारणा राख्नु भएको थियो।