बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले डस्टबिन वितरण गरी मनाए जन्मदिन
धनगढी,२७ जेठ । चुरे गाउँपालिका ३ मा रहेको बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले आफ्नो जन्मदिनलाई सामाजिक कार्यमा समर्पित गर्दै ‘सफा सुन्दर चुरे हाम्रो अभियान’ को थालनी गरेका छन्। परम्परागत भोजभतेरको सट्टा उनले गाउँपालिकाका विभिन्न सार्वजनिक स्थानहरूमा डस्टबिन वितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
सार्वजनिक स्थानहरूमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देउवाले भीडभाड हुने ठाउँहरूमा बसर युवा क्लबको नाम अङ्कित डस्टबिनहरू हस्तान्तरण गरेका हुन् । उनले स्थानीय बासिन्दाहरूलाई भेला गरी डस्टबिन हस्तान्तरण गर्दै सामाजिक कार्यमार्फत सकारात्मक सन्देश प्रवाह गरेका छन्।
देउवाले विगतमा पनि जन्मदिनमा विद्यालयलाई शैक्षिक सामग्री वितरण, वृद्धाश्रमलाई सहयोग र अन्य रचनात्मक कार्यहरू गर्दै आएका थिए । बसर युवा क्लबले चुरे गाउँपालिकामा विभिन्न समयमा सामाजिक र रचनात्मक कार्यहरू गर्दै आइरहेको छ। स्वास्थ्य शिविर, वडा कप भलिबल, प्रदेशस्तरीय भलिबल प्रतियोगिता, कर्पोरेटस्तरको पेनाल्टी सुटआउट प्रतियोगिता, गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, वृहत् वृक्षरोपण, आमा समूहका महिलाहरूलाई सेनेटरी प्याड वितरण, उत्कृष्ट खेलाडी र स्वास्थ्य चौकीलाई सम्मान, छुवाछूत र अन्धविश्वासविरुद्ध जनचेतना जस्ता कार्यहरू क्लबले सञ्चालन गर्दै आएको छ।
यो अभियानले चुरे गाउँपालिकालाई सफा, सुन्दर र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

