शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहद्वारा ५०% अनुदानमा विद्युतीय चुलो वितरण
धनगढी,२८ जेठ । धनगढी उपमहानगरपालिका–११ बेलास्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाई ५० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण गरेको छ। सामुदायिक बनले आफ्ना १०० जना उपभोक्तालाइ विद्युतीय चुलो वितरण गरेको हो । वन संरक्षणको उद्देश्यसहित दाउराको खपत घटाउने प्रयास स्वरूप उक्त वितरण कार्यक्रम गरिएको हो।
दाउराको प्रयोगले वनमा क्षति पुग्ने भएकाले विद्युतीय चुलोले विकल्प दिन सक्ने अपेक्षा गरिएको सामुदायिक वनका अध्यक्ष रामचरण रानाले बताए । ‘वन जोगाउने र घरायसी स्वास्थ्यमा सुधार ल्याउने दुवै उद्देश्यले हामीले यो कार्यक्रम सुरु गरेका हौं,’ उनले भने।
विद्युतीय चुलोले धुवाँरहित खाना पकाउने वातावरण सिर्जना गर्ने हुँदा स्वास्थ्यमा समेत सकारात्मक असर पार्ने एन फेकोफनका महासचिव डन्डिराज सुवेदीले बताए । ‘यसले महिलाहरूलाई विशेष राहत पुग्नेछ र वन संरक्षणमा दीर्घकालीन योगदान पुर्याउनेछ,’ उनले भने।
सबडिभिजन वन कार्यालय धनगढीका प्रमुख किशोर धामीले यस्ता उदाहरणीय काम गर्ने सामुदायिक वन उपभोक्ता समूहहरूलाई पुरस्कारको व्यवस्था गरिने जानकारी दिए। उनले विद्युतीय चुलो प्रयोगबाट वातावरणीय प्रभाव पनि कम हुने हुँदा यस किसिमका कार्यक्रमलाई सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहले अस्थायी प्रहरी पोस्ट घोडसुवालाई १० वटा कुर्सीसमेत प्रदान गरेको थियो।
उक्त कार्यक्रममा सबडिभिजन वन कार्यालयका प्रमुख किशोर धामी, महासचिव डन्डिराज सुवेदी, वडा नं. ११ का प्रतिनिधि लालबहादुर महत, कल्पवृक्ष संस्थाका राजेन्द्र कार्की, नगर महासंघ अध्यक्ष श्याम बिष्ट, प्रहरी हर्कबहादुर कुँवर, पत्रकार तथा स्थानीय उपभोक्ताको उपस्थिति रहेको थियो।
उक्त सामुदायिक वनले वन संरक्षणसँगै सामुदायिक हितमा प्रभावकारी काम गर्दै आएको र वनसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

