इमान्दारीताले परिणाम देखाएको छ, खेलकुदलाई अझ सशक्त बनाउने छु : सदस्य सचिव खड्का

इमान्दारीताले  परिणाम देखाएको छ, खेलकुदलाई अझ सशक्त बनाउने छु : सदस्य सचिव खड्का Ramaroshan
२०८२ असार ०१ गते
इमान्दारीताले  परिणाम देखाएको छ, खेलकुदलाई अझ सशक्त बनाउने छु : सदस्य सचिव खड्का

धनगढी,१ असार । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव लोकबहादुर खड्काले इमान्दार प्रयासले खेलकुद क्षेत्रमा देखिएको सकारात्मक परिणामको प्रशंसा गरेका छन्। उनले सेवा सुविधा अभावका बाबजुद पनि सुदूरपश्चिमका खेलाडीहरूले जुन स्तरको उपलब्धि हासिल गरेका छन्, त्यो आफैँमा ठूलो कुरा भएको बताए।

कैलाली जिल्ला खेलकुद समितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै खड्काले भने, ‘तपाईंहरू इमान्दार भएर लाग्नुभएको छ। र अहिलेको नतिजाले त्यो प्रमाणित गरेको छ। मान्छे इमान्दार भएर लागेपछि नतिजाले प्रणाम देखाउँछ।’

उनले सुदूरपश्चिम क्षेत्रलाई खेलकुदका लागि उर्वर भूमि भन्दै यहाँबाट थुप्रै राष्ट्रियस्तरका खेलाडी उत्पादन भएको बताए । ‘यहाँ सेवा सुविधा छैनन् तर पनि देशका लागि खेलाडी उत्पादन भइरहेका छन्,’ उनले भने, ‘समस्या भनेको सबै कुरा अन्ततः आर्थिक अभावमै गएर ठोक्किन्छ।’

कार्यक्रममा उनले प्रशिक्षकदेखि खेलाडीहरूलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, आफूले सुदूरपश्चिमको खेलकुद क्षेत्रका लागि सक्दो काम गर्ने पनि बताए।

उनले अघिल्ला दिनमा के भयो भन्ने भन्दा पनि अब इमान्दारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए। ‘हिजो के भयो, कसो भयो त्यो थाहा भएन। अब इमान्दार भएर लाग्नुपर्छ,’ उनले भने।