सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव खड्काद्वारा पदभार ग्रहण
धनगढी,२ असार । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव लोकबहादुर खड्काले पदभार ग्रहण गरेका छन्। आइतबार सामाजिक विकासमन्त्री मेघराज खड्काले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए।
त्यसपछि परिषद् कार्यालयमा पुगेर सदस्य सचिव खड्काले पदभार ग्रहण गरेका हुन्। सपथ ग्रहण गर्दै उनले सुदूरपश्चिमको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको योगदानको कदर गर्दै इमान्दारीपूर्वक पदीय जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सामाजिक विकासमन्त्री मेघराज खड्काले सदस्यहरू नियुक्त छिट्टै गर्ने बताए। उनले काम गर्न टिम आवश्यक पर्ने भएकाले त्यो विषयमा सरकार गम्भीर रहेको बताए। उनले भलिबल, क्रिकेटलगायतमा खेलाडीहरूले प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताए। उनले सीमित स्रोतबाटै खेलकुद क्षेत्रमा काम गर्नुपरिरहेको बताए।
सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले मन्त्रालयले खेलकुद क्षेत्रलाई महत्व दिएर काम गरिरहेको बताए। उनले व्यक्तिलाई स्वच्छ राख्न र खेलाडीलाई व्यस्त राख्न विभिन्न गतिविधि भइरहेको बताए।
जेठ २९ गते सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको थियो। खड्का फुटबल र हक्कीका पूर्वखेलाडी हुन्। उनले आधा दर्जन बढी राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका छन् भने एउटा राष्ट्रिय हक्की खेल पनि खेलेका थिए।
कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका खड्का क्रिकेट विकास समिती क्षेत्र नम्वर ९ का कोषाध्यक्ष पनि थिए। तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर पनि खड्काले काम गरिसकेको अनुभव छ। उनी नेपाली काँग्रेसमा आवद्ध छन्।
झण्डै तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त थियो। ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए। उनको कार्यकाल ९ चैतदेखि सकिएको थियो।

