घोडाघोडी नगरपालिकामा मानसिक स्वास्थ्य विषयवस्तु स्थानीय पाठ्यक्रममा समावेश गरिने
धनगढी, २ असार / पछिल्लो समयमा बढ्दो मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटनालाई न्यूनीकरण गर्न घोडाघोडी नगरपालिकाले स्थानीय पाठ्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी विषयवस्तु समावेश गर्ने तयारी गरेको छ।
सोमबार फेल्म नेपालको आर्थिक र सी.एम.सी-नेपालको प्राविधिक साझेदारीमा सञ्चालित "अप्रवासी कामदार र उनका परिवारका मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धन परियोजना" अन्तर्गत आयोजना गरिएको परियोजना सल्लाहकार समितिको बैठकले सो निर्णय गरेको हो। बैठकमा स्थानीय पाठ्यक्रममा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, तनाव व्यवस्थापन जस्ता विषयलाई समावेश गर्न सुझाव दिइएको थियो।
नगरप्रमुख खडक बहादुर रावतले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेटमा मानसिक स्वास्थ्यलाई प्राथमिकताका साथ समावेश गरिने प्रतिवद्धता जनाएका छन्। उनले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको सामुदायिक पुनःस्थापनाको लागि बिषयगत शाखासँग समन्वय गर्दै आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्न निर्देशनसमेत दिएका छन्।
बैठकमा सी.एम.सी नेपालका कार्यक्रम अधिकृत अनत चौधरीले परियोजनाबाट जनवरीदेखि जुन २०२५ सम्म गरिएका गतिविधिहरु, उपलब्धी र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। त्यस्तै, सी.एम.सी. नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले मनोसामाजिक परामर्श सेवाको निरन्तरतासँगै स्थानीय तहले मानसिक स्वास्थ्यसम्बन्धी असल अभ्यासहरूलाई नीति तथा बजेटमा समेट्नुपर्नेमा जोड दिए।
स्वास्थ्य शाखा प्रमुख कैलाश रावतको सञ्चालनमा सम्पन्न बैठकमा नगरप्रवक्ता एवं वडा नं. १ का अध्यक्ष घनश्याम ओझा, वडा नं. २ का अध्यक्ष लक्ष्मी राज चौधरी, वडा नं. ३ का अध्यक्ष कृष्णप्रसाद गौतम, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, महिला तथा बालबालिका शाखा प्रमुख इन्दु जोशी, मेडपा कार्यक्रमकी फोकल पर्सन जुगिना चौधरी, स्वावलम्बन समूह अध्यक्ष सीताराम चौधरी, साथी सहयोगी स्वयंसेविका कल्पना चौधरी, मनोसामाजिक कार्यकर्ता सुशीला चौधरीलगायतको उपस्थिति रहेको थियो।
बैठकपश्चात नगरप्रमुख रावतसहित प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारी, वडा अध्यक्ष, शिक्षा र स्वास्थ्य शाखा प्रमुख तथा सी.एम.सी. नेपालका प्रतिनिधिको टोलीले कार्यक्रम सञ्चालित समुदायको स्थलगत अनुगमनसमेत गरेको मनोसामाजिक कार्यकर्ता सुशीला चौधरीले जानकारी दिइन्।

