कैलाली कारागारमा कैदीको मृत्यु :सहायक प्रजिअको संयोजकत्वमा छानबिनका लागि सात सदस्यीय समिति गठन

कैलाली कारागारमा कैदीको मृत्यु :सहायक प्रजिअको संयोजकत्वमा छानबिनका लागि सात सदस्यीय समिति गठन Ramaroshan
२०८२ असार ०४ गते
कैलाली कारागारमा कैदीको मृत्यु :सहायक प्रजिअको संयोजकत्वमा छानबिनका लागि सात सदस्यीय समिति गठन

धनगढी, ४ असार। कैलाली कारागारमा अचेत अवस्थामा भेटिएका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। मृतक डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पाली हुन्। उनी बैंकिङ कसुर मुद्दामा १ असारमा पक्राउ परेका थिए। २ असारको राति कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका पालीको सोही रात उपचारकै क्रममा मृत्यु भएको थियो।

पालीको शरीरमा चोटपटक देखिएको भन्दै परिवारले हत्या भएको आशंका व्यक्त गरेका छन्। निष्पक्ष छानबिनको माग गर्दै उनीहरूले शव बुझ्न मानेका छैनन्। बुधबार आक्रोशित परिवारजनले डडेल्धुरामा राजमार्गसमेत अवरुद्ध गरेका थिए। सम्बन्धित निकायले घटनाबारे छानबिन प्रतिवेदनपछि मात्र आवश्यक निर्णय लिने जनाएको छ।