सुदूरपश्चिम प्रदेश तीन सय किमीभन्दा बढी सडक निर्माण

सुदूरपश्चिम प्रदेश तीन सय किमीभन्दा बढी सडक निर्माण Ramaroshan
२०८२ असार ०४ गते
सुदूरपश्चिम प्रदेश तीन सय किमीभन्दा बढी सडक निर्माण

धनगढी,४ असार ।सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१८ किलोमिटर सडक निर्माण गरेको छ । प्रदेश सरकारले चालु आवको चैत मसान्तसम्म त्यति सडक निर्माण गरेको हो । निर्माण गरिएकोमध्ये १२० किलोमिटर कालोपत्रे सडक रहेको छ । यसै गरी ५७ किलोमिटर ग्राभेल सडक निर्माण भएको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बताउनुभयो । उहाँले यही अवधिमा १४२ किलोमिटर कच्ची सडक निर्माण भएको जानकारी दिनुभयो । 

प्रदेशको आर्थिक, सामाजिक विकासलाई तीव्रता दिने गरी भरपर्दो र सुरक्षित दिगो सडक सञ्जालको विस्तार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको जनाइएको छ । यसका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिने मन्त्री थापाले बताउनुभयो । प्रदेश गौरव र बहुवर्षीय आयोजनाको निर्माण सम्पन्न गर्न सडक तथा सडक पुल पूर्वाधारको गत विगतको करारीय दायित्व र प्रदेश सरकारको स्रोत सीमिततालाई ध्यान दिई उच्च प्राथमिकतामा राखेको जनाइएको छ । 

स्थानीय तहसम्म सडक सञ्जाल

राजमार्ग तथा सहायक राजमार्गदेखि स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल विस्तार नभएका स्थानीय तह र यातायात सञ्चालन हुन नसक्ने स्थानीय तहको केन्द्रलाई नजिकको राजमार्ग तथा सहायक राजमार्गसँग जोड्ने प्रदेश सरकारले जनाएको छ । 

स्थानीय तहको सडक सञ्जालसँगको पहुँच विकास गरी आगामी पाँच वर्षभित्र खण्डाश्मित एवं कालोपत्रे गर्ने व्यवस्था मिलाएको मन्त्री थापाले बताउनुभयो । यसका लागि नेपाल सरकार र स्थानीय तहसमेतको लागत साझेदारीमा प्रादेशिक सडक सुधार आयोजना सञ्चालनका लागि प्रदेश सरकारले एक अर्ब २१ करोड ६५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । 

हालसम्म पनि सडक सञ्जालसँग कच्ची सडक नजोडिएका बझाङको साईपाल, बैतडीको सिगास र दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई उच्च प्राथमिकता दिई निर्माण अगाडि बढाउने प्रदेश सरकारले जनाएको छ । यसका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ । सडक सञ्जाल नपुगेको दुर्गम एवं ग्रामीण क्षेत्रमा आधारभूत सेवालाई सहज र पहुँचयोग्य बनाउन झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिने मन्त्री थापाले बताउनुभयो । उहाँले प्रदेशबाट निर्माण भएका सडकको नियमित, आवधिक र आकस्मिक मर्मतसम्भारका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गर्नुभयो । 

आठ वटा नयाँ पुल निर्माण

चालु आवको चैत मसान्तसम्म प्रदेश सरकारले आठ वटा नयाँ सडक पुल निर्माण गरेको छ । यस्तै यसै अवधिसम्म प्रदेश सरकारले निर्माण गरेको आधारभूत खानेपानी सेवाबाट २० हजार २६८ जना लाभान्वित भएका छन् । मध्यमस्तरको खानेपानी सेवा विस्तारबाट ५६ हजार ८५५ जनालाई स्वच्छ खानेपानी सेवा उपलब्ध भएको जनाइएको छ ।