डेन्टल प्रमाणपत्रको दुरुपयोग नगर्न स्वास्थ्यकर्मीलाई एसोसिएसनको आग्रह
काठमाडौं, ५ असार । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत दर्तावाल डेन्टल असिस्टेन्ट, डेन्टल हाईजेनिस्ट तथा डेन्टल साईन्स डेन्टल हाईजेनिस्टहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्रको दुरुपयोग नगर्न आग्रह गरेको छ। एसोसिएसनका अध्यक्ष माइकल देवकोटाद्वारा जारी विज्ञप्तिमा सबै दन्त स्वास्थ्यकर्मीले आफ्नो कार्यस्थलमा प्राप्त डिग्री, लाइसेन्स प्रमाणपत्र तथा योग्यता स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने भनिएको छ।
साथै, तलब बैंकिङ प्रणालीमार्फत दिइनुपर्ने, करकटौती अनिवार्य गरिनुपर्ने र श्रम ऐनअनुसारको सुविधा नपाए उजुरी गर्न सकिने व्यवस्था पनि स्मरण गराइएको छ। कार्यरत संस्थाबाट राजीनामा दिएपछि सम्बन्धित निकाय र एसोसिएसनलाई जानकारी दिनु पर्ने र उपचारसम्बन्धी भ्रामक प्रचार नगर्न विशेष अनुरोध गरिएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, दफा २० अनुसार परिषदमा दर्ता नभएका व्यक्तिले दन्त उपचार सेवा दिन नपाउने कानुनी व्यवस्था रहेको भन्दै, बिना लाइसेन्स व्यक्तिहरूलाई संलग्न गराउने कार्य गैरकानुनी रहेको प्रष्ट पारिएको छ।
एसोसिएसनले नेपालका विभिन्न क्षेत्रमा आफूलाई डेन्टल हाईजेनिस्ट वा सिडिएस भनेर चिनाउने, गलत कोड नम्बर प्रयोग गर्ने र बिना डिग्री सेवा दिने कार्यहरू व्यापक भएको दाबी गर्दै यस्ता अवैध गतिविधिमा सचेत रहन र उजुरी गर्न पनि आग्रह गरेको छ।
सूचनामा सीटीईभीटीबाट मात्र नेपालमा डेन्टल हाईजेनिस्ट, सिडिएस र डेन्टल असिस्टेन्टको पढाइ हुने तथा धरानबाट एक मात्र ब्याच उत्पादन भएको जानकारी दिँदै, अन्य संस्थाको भ्रममा नपर्न अपिल गरिएको छ।

