पत्रकारिता मर्यादित पेशा हो, ढुक्क भएर कलम चलाउनुस् : मुख्यमन्त्री शाह
कञ्चनपुर, ६ असार / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकारहरूलाई ढुक्क भएर कलम चलाउन आग्रह गरेका छन्। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा कञ्चनपुरमा आयोजित महिला पत्रकार लक्षित प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री शाहले पत्रकारिता एक मर्यादित र सम्मानजनक पेशा भएकाले निडर भएर काम गर्नुपर्ने बताए।
“पत्रकारहरू थुप्रै चुनौती पार गर्दै आइरहेका छन्,” उनले भने, “नयाँ पुस्तालाई यो पेशा इज्जतको हो भन्ने अनुभूति गराउनु आवश्यक छ।”
मुख्यमन्त्री शाहका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चार क्षेत्रका १० वटा कार्यक्रमलाई लक्षित गर्दै बजेट विनियोजन गरेको छ। तीमध्ये प्रमुख कार्यक्रमहरूमा दशरथ चन्द स्मृति पत्रकारिता पुरस्कार अक्षय कोष, पत्रकार क्षमता अभिवृद्धि, आम सञ्चार संस्थाको सुदृढीकरण, रासस भवन तथा नेपाल टेलिभिजनको स्टुडियो निर्माण, कञ्चनपुर–डडेलधुरामा महासंघको भवन निर्माण, लोककल्याणकारी विज्ञापन, विपद् तथा मानवअधिकार क्षेत्रमा अनुसन्धानका लागि इन्टर्नशिप र कैलालीमा सञ्चारकर्मीका लागि संयुक्त आवास गृह निर्माण लगायत रहेका छन्।
मुख्यमन्त्रीले पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

