भ्रमण खर्च दुई करोडभन्दा बढी

भ्रमण खर्च दुई करोडभन्दा बढी Ramaroshan
२०८२ असार ११ गते
भ्रमण खर्च दुई करोडभन्दा बढी

धनगढी,११ असार ।कञ्चनपुरका स्थानीय तहको भ्रमण खर्च दुई करोड रुपियाँभन्दा बढी देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका नौ वटा पालिकाले ‘भ्रमण’ शीर्षकमा दुई करोड २३ लाख ६९ हजार रुपियाँ खर्च गरेका हुन् । गत आवमा अन्य पालिकाका हकमा बेलौरी पालिकाकाले अत्यधिक खर्च ‘भ्रमण’ शीर्षकमा गरेको छ । बेलौरी नगरपालिकाको भ्रमण खर्च गत आवमा ४८ लाख ३४ हजार आठ सय रुपियाँ नाघेको हो ।  सो पालिकाले कर्मचारीको भ्रमणमा १६ लाख ८० हजार २९७ रुपियाँ र पदाधिकारी भ्रमणमा २४ लाख ७९ हजार २०१ रुपियाँ खर्चेको छ ।

भ्रमणमा प्रयोग भएका सवारीसाधनको अनुगमन प्रतिवेदनसमेत बेलौरी नगरपालिकाले तयार गरेको छैन । यसले गर्दा गत आवमा उक्त रकमको सही सदुपयोग भएको भन्ने आधार भने नरहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

बेलौरीपछि कृष्णपुर नगरपालिकाको भ्रमण खर्च गत आवमा ३१ लाख ५० हजार रुपियाँ पुगेको छ । सो पालिकाले स्पष्ट प्रयोजन र उद्देश्यबेगर भ्रमण खर्च गरेको देखिएको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । अघिल्लो आवमा कृष्णपुर नगरपालिकाले भ्रमण शीर्षकमा २४ लाख ९८ हजार रुपियाँ खर्च गरेको थियो । शुक्लाफाँटा नगरपालिकाले गत आवमा पदाधिकारी र कर्मचारीलाई भ्रमण खर्चस्वरूप २१ लाख ९९ हजार ९०१ रुपियाँ खर्च गरेको छ । यो खर्च स्वाभाविक भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट बताउनुहुन्छ । शुक्लाफाँटा नगरपालिकाले आव २०७९/८० मा १७ लाख दुई हजार रुपियाँ भ्रमणमा खर्च गरेको थियो । 

यस्तै बेदकोट नगरपालिकाले गत आवमा २४ लाख ६९ हजार ६७६ रुपियाँ कर्मचारी र पदाधिकारीको भ्रमण ‘शीर्षक’ मा खर्च गरेको छ । आव २०८०/८१ मा भीमदत्त नगरपालिकाले कर्मचारी र पदाधिकारीको भ्रमणबापत २१ लाख २७ हजार ९८१ रुपियाँ खर्च गरेको छ । भीमदत्त नगरपालिकाले भ्रमण अभिलेख खाता अद्यावधिक नगरेको पाइएको छ । बेलडाँडी गाउँपालिकाले भने नगरपालिकाभन्दा बढ्ता खर्च भ्रमण शीर्षकमा गरेको छ । सो पालिकाको भ्रमण खर्च गत २७ लाख ९१ हजार  रुपियाँ नाघेको छ । सो पालिकाको कर्मचारी तथा पदाधिकारी भ्रमणमा २५ लाख ३७ हजार २५ रुपियाँ खर्च गरेको छ भने अन्य भ्रमणमा दुई लाख ५४ हजार दुई सय रुपियाँ खर्च गरेको छ । बेलडाँडी गाउँपालिकाले आव २०७९/८० मा  २२ लाख ६८ हजार भ्रमणमा खर्च गरेको थियो । 

लालझाँडी गाउँपालिकाले भने भ्रमण खर्चको अभिलेख खाता नै नराखेको पाइएको  छ । दोधारा चाँदनी नगरपालिकाले गत आवमा २६ लाख २२ हजार ४३५ रुपियाँ भ्रमण शीर्षकमा खर्च गरेको छ । सो पालिकाले भ्रमण अभिलेख खाता प्रमाणित, कोष प्रमाणित, प्रयोग भएका सवारीसाधनको टिकट अनुगमन प्रतिवेदन भने तयार नगरेको पाइएको हो । यसले गर्दा अनुगमन तथा भ्रमणको सही सदुपयोग भएको छ भन्ने आधार नरहेको महालेखा परीक्षकको कार्यालयले बताएको छ । 

पुनर्बास नगरपालिकाले गत आवमा भ्रमण खर्च शीर्षकमा २१ लाख ७३ हजार ७०३ रुपियाँ खर्च भएको जनाएको छ । भ्रमणमा प्रयोग भएका सवारीसाधनको प्रतिवेदन भने नराखेको पाइएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसले गर्दा भ्रमण तथा अनुगमनको सही सदुपयोग भएको भन्ने आधार नरहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । 

भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमण गएको मिति भ्रमणमा प्रयोग भएका सवारीसाधनको भ्रमण अभिलेख स्पष्ट राख्नुपर्ने र भ्रमणमा खटाउने पदाधिकारीले विश्वसनीय आधार प्रमाण स्थापित हुने गरेर आवश्यकता अनुसार आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था गर्नु पर्छ । कञ्चनपुरमा भने पालिकाहरूले भ्रमण खर्चको अभिलेख नै नराखेको पाइएको छ । यसले यहाँका पालिकाहरूले गत आवमा दुई करोड २३ लाख ६९ हजार रकम ‘भ्रमण’ शीर्षकमा रहेको बजेट दुरुपयोग गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।