बान्नीगढी जयगढ गाउँपालिकाको बजेट ३७ करोड बढी

बान्नीगढी जयगढ गाउँपालिकाको बजेट ३७ करोड बढी Ramaroshan
२०८२ असार ११ गते
बान्नीगढी जयगढ गाउँपालिकाको बजेट ३७ करोड बढी

धनगढी,११ असार ।अछामको बान्नीगढी जयगढ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३७ करोड १ लाख २ हजार ३१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । 

गाउँसभाको १४ औँ अधिवेशनमार्फत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । अध्यक्ष टेकबहादुर साउँदले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्धि, स्वरोजगार र सेवा प्रवाहमा प्रभावकारी परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले बजेट विवरण प्रस्तुत गर्नुभयो । 

गाउँपालिकाले “विदेश होइन, स्वदेशमै रोजगारीः आत्मनिर्भर बनाऔँ बान्नीगढी” मूल नारा अघि सारेको छ । यस अन्तर्गत व्यावसायिक कृषि, पशुपालन र स्थानीय स्रोत केन्द्रित उद्यमशीलता प्रवर्धन गर्दै स्वरोजगारको अवसर सिर्जना गरिने जनाइएको छ ।

शिक्षा क्षेत्रमा “गुणस्तरीय शिक्षा, समृद्ध बान्नीगढीको आधार” भन्ने दृष्टिकोण लिइएको छ भने स्वास्थ्य क्षेत्रमा “सबैको पहुँचमा गुणस्तरीय सेवा” भन्ने लक्ष्यसहित सामाजिक विकासमा विशेष जोड दिइने बताइएको छ ।

प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफ्नै नवनिर्मित प्रशासनिक भवनमार्फत जनमैत्री, पारदर्शी र सहज सेवा उपलब्ध गराइने योजना बजेटमा समेटिएको छ । आन्तरिक तथा प्रशासनिक खर्चमा कटौती गर्दै सेवा केन्द्रित प्रणालीको विकास गरिने जनाइएको छ ।

गाउँपालिकाले संगठन संरचना पुनरावलोकन गर्दै आवश्यक जनशक्ति व्यवस्थापनका लागि कार्य विवरण र कार्य विश्लेषणमा आधारित संरचनागत सुधार समेत नीति दस्तावेजमा समावेश गरिएको छ ।

स्थानीय पर्यटन, कृषि, पशुपालन र लघु उद्यमलाई प्राथमिकतामा राख्दै आर्थिक वृद्धि र रोजगारीसँगै बान्नीगढीलाई आत्मनिर्भर बनाउने दीर्घकालीन खाका गाउँपालिकाले अघि सारेको छ ।