सुदूरपश्चिम सरकारले बढायो सवारी कर, कुन गाडीको कति पुग्यो ?

सुदूरपश्चिम सरकारले बढायो सवारी कर, कुन गाडीको कति पुग्यो ? Ramaroshan
२०८२ असार १२ गते
सुदूरपश्चिम सरकारले बढायो सवारी कर, कुन गाडीको कति पुग्यो ?

धनगढी,१२ असार । सुदूरपश्चिम प्रदेश सरकारले सवारीसाधन कर बढाएको छ । प्रदेशसभामा पेश भएको सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ९आर्थिक विधेयक० मा सवारीसाधन कर बढाइको हो । प्रदेश सरकारले सवारीसाधन कर, सेवा शुल्क र दस्तुर बढाएको हो । चालु आर्थिक वर्षभन्दा मोटरसाइकल, स्कुटर लगायतका दुई पाङ्ग्रे निजी सवारी साधनको करमा प्रदेश सरकारले दुई सय रुपैयाँदेखि आठ हजार पाँच सय रुपैयाँसम्म बढाएको छ ।

चालु वर्षमा १२५ सिसीसम्म दुई हजार छ सय, १२६ देखि १५० सिसीसम्म चार हजार आठ सय, १५१ देखि २५० सिसीसम्म छ हजार, २५१ देखि चार सय सिसीसम्म १० हजार र ४०१ सिसीदेखि माथिका दुई पाङ्ग्रे सवारीका लागि ११ हजार पाँच सय सवारी कर थियो ।  आगामी आर्थिक वर्षमा भने उक्त कर बढेर १२५ सिसीसम्म दुई हजार आठ सय, १२६ सिसीदेखि १५० सिसीसम्म पाँच हजार, १५१ सिसीदेखि २५० सिसीसम्म छ हजार पाँच सय, २५१ सिसीदेखि ६५० सिसीसम्म ११ हजार, ४०१ सिसीदेखि ६५० सिसीसम्म २० हजार सवारी कर हुने आर्थिक विधेयकमा उल्लेख छ ।

यस्तै निजी कार, जिप, भ्यान र माइक्रोमा पनि सवारी कर बढाइएको छ । चालु आर्थिक वर्षमा हजार सिसीसम्मका कार, जिप, भ्यान र माइक्रोको सवारी कर २१ हजार, एक हजार एक सिसीदेखि १५ सय सिसीसम्म २३ हजार, एक हजार पाँच सय एक सिसीदेखि दुई हजार सिसीसम्म २५ हजार, दुई हजार एक सिसीदेखि २५ सय सिसीसम्म ३५ हजार, २५ सय एकदेखि २९ सय सिसीसम्म ४० हजार र २९ सय एकभन्दा माथि सिसी भएका सवारीको कर ५८ हजार रहेको थियो ।

आगामी आर्थिक वर्षमा भने ती सवारी साधनमा एक हजारदेखि १२ हजारसम्म कर बढ्ने भएको छ । हजार सिसीसम्मका कार, जिप, भ्यान र माइक्रोको सवारी कर २२ हजार, एक हजार एक सिसीदेखि १५ सय सिसीसम्म २५ हजार, एक हजार पाँच सय एक सिसीदेखि दुई हजार सिसीसम्म २७ हजार, दुई हजार एक सिसीदेखि २५ सय सिसीसम्म ३७ हजार, २५ सय एकदेखि २९ सय सिसीसम्म ५० हजार र २९ सय एकभन्दा माथि सिसी भएका सवारीको कर ७० हजार हुने प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आर्थिक विधेयकमा उल्लेख छ ।

यस्तै निजी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेशिनरी गाडीको कर भने बढाइएको छैन । ती सवारीको कर चालु आर्थिक वर्षमा ४० हजार रहेकोमा आगामी आर्थिक वर्षमा पनि सोही रकम निर्धारण गरिएको छ । ट्याक्टरको कर पनि चालु वर्षकै आठ हजार आगामी वर्षका लागि पनि निर्धारण गरिएको छ । निजी ट्रक र बसको पनि चालु आर्थिक वर्षमा ३५ हजार सवारी कर रहेकोमा आगामी आर्थिक वर्षमा पनि ३५ हजार नै हुने आर्थिक विधेयकमा उल्लेख छ । तिन पाङ्ग्रे सवारीको कर भने चार हजार पाँच सयबाट बढाएर छ हजार पुगाइएको छ ।

प्रदेश सरकारले सार्वजनिक सवारी साधनको कर पनि बढाएको छ । ५० वाटसम्मका विद्युतिय सवारीमा भने कर छुट दिइएको छ । चालु वर्षमा पाँच सय वाटसम्मका विद्युतिय निजी मोटरसाइकल र स्कुटरको सवारी कर एक हजार दुई सय, ५०१ देखि हजार वाटसम्मका सवारीको एक हजार सात सय, हजारदेखि १५ सय वाटसम्मको दुई हजार तीन सय र त्योभन्दा बढी वाट भएका सवारीको कर तीन हजार पाँच सय रहेको थियो ।

आगामी आर्थिक वर्षमा ५०१ देखि हजार वाटसम्मका सवारीको एक हजार सात सय, हजारदेखि १५ सय वाटसम्मको दुई हजार पाँच सय र त्योभन्दा बढी वाट भएका सवारीको कर तीन हजार पाँच सय निर्धारण गरिएको छ ।