चिकित्सकहरु आन्दोलनमा- सुदुरपश्चिमका अस्पतालहरुमा पनि आकस्मिक बाहेकका सेवा ठप्प
धनगढी,२३ असार । उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आज सोमबार देशभरका ओपीडी बन्द गरिएका छन्। सुदुरपश्चिममा पनि स्वास्थ्य संस्था र अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन् । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको संघका प्रदेश अध्यक्ष डा. खगेन्द्र भट्टले जानकारी दिए ।
कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग हाम्रो हो, डा. भट्टले भने, यो आन्दोलन देशभरी भइरहेको छ । सुदूरपश्चिममा पनि सेती प्रादेशिक लगायतका अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि आन एक दिनका लागि आकस्मिक सेवा मात्रै सुचारु छ। केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो। उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो।

