शैल्यशिखर पूजन जात्रा सुरु

शैल्यशिखर पूजन जात्रा सुरु Ramaroshan
२०८२ असार २४ गते
शैल्यशिखर पूजन जात्रा सुरु

धनगढी,२४ असार । शैल्यशिखर पूजन जात्रा सुरु भएको छ । जात्राको दर्शन र पूजाआजा गर्न बाहिरी जिल्लाका भक्तजनहरू यहाँ आउने क्रम बढेको मालिकार्जुन मन्दिर विकास समितिका अध्यक्ष धिर्कसिंह धामीले जानकारी दिए ।

मालिकार्जुन गाउँपालिका–३ र शैल्यशिखर नगरपालिका–६ को सीमा क्षेत्रमा पर्ने शैल्यशिखरधाममा हरेक वर्ष असार शुक्लचतुर्दशी तिथि र कात्र्तिक शुक्लत्रयोदशी तिथीमा पूजन जात्रा लाग्ने गर्दछ । यस वर्षको असार शुक्लचतुर्दशी तिथि बुधबार (भोली) परेको तथा जात्राको सबै तयारी पूरा भएको उनले बताए । शुद्ध ९चोखो० भोको र पवित्र मनले शैल्यशिखरबाबाको दर्शन गर्नाले पूण्य मिल्ने, मनोकामना पूरा हुने र निसन्तानीलाई सन्तान प्राप्त हुने जनविश्वास समेत छ ।

सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्ला र भारतको उत्तराखण्डको धारचुला, डिडिहाट, मुन्स्यारी, पिपली, अस्कोट चम्पावत, र पिथौरागढबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् । मालिकार्जुन मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धामका रूपमा घोषणा गरेको थियो ।

जात्राको अवसरमा यहाँका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा समेत दिएका छन् ।