गोदावरीमा पावर टिलरको लोभमा ठगिएका किसानले, दिए उजुरी
कैलाली , २५ असार / कैलालीको गोदावरीमा पावर टिलर दिने भन्दै ठगिएका ५० किसानले उजुरी दिएका छन् । एक वर्ष अघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका हुन ।
उनीहरुले सुरो नेपालको नाममा गोदावरी नगरपालिका – ६ का वडाध्यक्ष जग्गुराम चौधरीकी बुहारी ३२ वर्षीय प्रीयंका चौधरीका नाममा उजुरी दिएका छन् । जसमा ३६ लाख १७ हजार बराबरको रकम प्रीयंकाले उठाएको उल्लेख छ ।
उजुरी कर्ता मध्येका एक मान बहादुर चौधरीले दिनभरी प्रहरी कार्यालयमा छलफलका लागि बस्दा पनि प्रीयंका सम्पर्कमा नआएपछि उजुरी दिएको बताए । उनले प्रीयंकाले नै गाउँमा आफूहरुलाई भेला गरी २ महिना भित्रमा किसानहरुले माग गरेका कृषि उपकरण दिने भन्दै २०८१ साउनमा पैसा संकलन गरे पनि अहिले सम्म कुनै सामान नपाएको बताए ।
किसानहरुले दिएको उजुरीमा प्रीयंकाले पछिल्लो समय रकम र सामान नदिने भन्दै उल्टै धम्की दिने गरेको उल्लेख छ । छलफलका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेका प्रीयंकाका ससुरा वडाध्यक्ष जग्गुराम चौधरीले बुहारी महेन्द्रनगरमा रहेको बताए पनि हाल फोन स्विच अफ रहेको बताएका थिए ।
सोनमको उजुरी फिर्ता
पावर टिलर दिने भन्दै गोदावरीमा रकम संकलन गरेकी सोनम चौधरीको नामको उजुरी भने फिर्ता गरिएको छ । उनीबाट ठगिएका ४४ जना किसानले उजुरी दिने तयारी गरे पनि सोनमले १५ दिनमा रकम फिर्ता गर्ने मौखिक सहमति गरेपछि किसानहरुले उजुरी प्रहरी कार्यालयमा नबुझाई फिर्ता लगेका हुन ।
मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीमा भएको छलफलमा सहभागी भएकी सोनमले आफूले किसानबाट संकलन गरेको रकम सुरो नेपालकी अध्यक्ष सुशीला खड्कालाई बुझाएकोले उनीबाटै रकम फिर्ता लिएर किसानलाई दिने बताएको किसान जगत् चौधरीले बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले प्रीयंकाका विरुद्ध उजुरी दर्ता भएको पुष्टि गरे । उनले सोनमले रकम उठाएकाहरूले भने सहमति गरेर फर्किएको बताए ।
सुरो नेपालकी अध्यक्ष खड्का सहित प्रीयंकाकी आमा सुनिता चौधरीलाई प्रहरीले जेठ १७ गते काठमाण्डौंबाट पक्राउ गरेर कञ्चनपुर ल्याइसकेको छ । दुवै जना विरुद्ध कञ्चनपुरको कृष्णपुरका किसानले उजुरी दिएका थिए । दुवै जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
गोदावरीमा मात्रै सुरो नेपालका नाममा ११० किसान ठगिएको बताइए पनि मंगलबार प्रीयंकाबाट ठगिएका ५० जना र सोनमबाट ठगिएका ४४ जना किसान इलाका प्रहरी कार्यालयमै पुगेका थिए ।
दुवै जनाले गोदावरीमा किसानबाट ७० हजार देखि १ लाख ३० हजार सम्म रकम उठाइएको पाइएको छ । सुरो नेपालका नाममा गोदावरी नगरपालिका मात्रै नभएर कैलालीका विभिन्न पालिका सहित कञ्चनपुरका किसान ठगिएका छन् ।

