मन्त्री राणा इटलीको रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ अधिवेशनमा सहभागी हुन गएकी थिइन् । अधिवेशनका प्रमुख सत्रहरू तथा विभिन्न उच्चस्तरीय सम्मेलनहरूलाई उनले सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उनले नेपालले खाद्य अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको र यसका लागि आवश्यक कानुनी तथा नीतिगत संरचना तयार गरिएको जानकारी दिइन् ।
उनले नेपालमा खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीति अन्तर्गत उपभोक्ता संरक्षण, प्रयोगशाला निगरानी र नियामक मापदण्डमार्फत सुरक्षित तथा गुणस्तरीय खाद्य सुनिश्चित गरिँदै आएको बताइन् । साथै, अतिकम विकसित, साना टापू र भूपरिवेष्ठित राष्ट्रहरूले जलवायु परिवर्तनका कारण भोग्नुपरेको क्षति प्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै यस्ता मुलुकहरूका लागि दिगो कृषि प्रणाली र जलवायु वित्तमा अनुदानको आवश्यकता औँल्याइन् ।
इटली भ्रमणपछि मन्त्री राणा जर्मनी पुगिन् जहाँ उनले जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । बर्लिनमा सम्पन्न उक्त भेटमा उनले नेपालमा रासायनिक मल उत्पादन कारखाना स्थापना, सिधा हवाई उडान, तथा लगानी अभिवृद्धिका विषयमा प्रस्ताव राखिन् ।
मन्त्री राणाले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारीमा रहेको र त्यसपछिको विकास यात्रामा जर्मनी, युरोपियन युनियन तथा अन्य साझेदारहरूको स्रोत, प्रविधि र आर्थिक सहयोग अपेक्षित रहेको धारणा पनि व्यक्त गरिन् ।

