बैतडीको पाटन नगरपालिका–५, वसन्तपुरमा सडक एक कुलो दुई

बैतडीको  पाटन नगरपालिका–५, वसन्तपुरमा सडक एक कुलो दुई Ramaroshan
२०८२ असार २८ गते
बैतडीको  पाटन नगरपालिका–५, वसन्तपुरमा सडक एक कुलो दुई

 धनगढी,२८ असार ।  गाडी, मोटर चलाउन निर्माण भइरहेको सडकमा कुलोमाथि कुलो बनाएर योजना पास भएको छ । सडकमा पहिलेदेखि नै कुलो थियो । त्यसमाथि नगरपालिकाले कुलोसँगै जोडेर नयाँ कुलो बनाएपछि चौतर्फी आलोचना भएको छ ।

पाटन नगरपालिका–५, वसन्तपुर जोड्ने ग्रामीण सडकमा कुलोमाथि कुलो बनेको वडाध्यक्ष फुनी बोहराले बताउनुभयो । कुलोबाट स्थानीयलाई सिँचाइ सुविधा हुने भए पनि दीर्घकालीन नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पाँच वर्षपहिले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सडकमा निर्माण गरेको एउटा पुरानो कुलो थियो । चालु आर्थिक वर्षमा नगरपालिकामा २७ लाख रुपियाँ योजना परेपछि गौदेवल सिँचाइ योजनाको नयाँ कुलो थपिएको छ । सडकमा कुलो नबनाऊँ भन्दा पनि प्राविधिकले मानेनन् । मैले वडाको सिफारिस दिएको छैन ।”

उहाँले सडकभन्दा तल्तिर कुलो निर्माण गर्न सकिने विकल्प भए पनि त्यसो नगरिएको बताउनुभयो । सडकमा दुई वटा सिँचाइ कुलो बनेपछि सडक विस्तार गर्ने कि कुलो बनाउने भन्ने अन्योल सिर्जना भएको उहाँले बताउनुभयो ।पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले भुलवश सडकमा कुलो बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय सरकारको अनुदानप्राप्त भएपछि कुलो बनेको हो । यसअघि सोही सडकमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइ कुलो निर्माण गरेका कारण हामी पनि झुक्कियौंँ । त्यसो नगर्नुपर्ने रहेछ ।”

सडकमा कुलो निर्माण भएको विषयमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख रामरत खरेलले पुरानो कुलो सिँचाइ कार्यालयले बनाएको बताउनुभयो । नयाँ कुलोबारे सिँचाइ कार्यालयलाई कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।

करोडौँका सिँचाइ योजना अलपत्र

सिँचाइ डिभिजन कार्यालयले विगतका वर्षमा निर्माण गरेका करोडौंका योजना अलपत्र अवस्था रहेका छन् । जिल्लाको मेलौली नगरपालिका–८, भम्तखोरडमा लिफ्ट सिँचाइमा करिब एक करोड रुपियाँ खर्च भए पनि खेत बाँझै रहेको छ । भम्तखोरडमा सुदूरपश्चिम प्रदेश सरकारले नमुना कृषि गाउँको योजना बनाएर दुई करोड रुपियाँ खर्च गरेर फलामका पाइप भएको पोलिहाउस वितरण गरे पनि खेतमा अलपत्र छाडिएका छन् । बाँझो खेतमा पशु चौपाया चर्ने गरेका भेटिन्छन् ।

नमुना कृषि गाउँको योजनामा मुद्दा परेपछि वितरण भएका पोलिहाउस अन्यत्र सार्न सकिने कृषि ज्ञानकेन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । त्यसै गरी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुई वटा सिँचाइ योजनामा लाखौँ रुपियाँ खर्च गरेर अधुरै छाडेको सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । उहाँले आफ्नो वडामा दुई वटा सिँचाइ कुलोमा आधा बजेट खर्च गरेर योजनाका पाइप अलपत्र पारेको बताउनुभयो । सिगास गाउँपालिका–१ को स्यापागैर सिँचाइ योजना र टकेरे सिँचाइ अलपत्र छाडिएको वडाध्यक्ष ऐरीले बताउनुभयो ।