‘कर्णालीको पानी लम्कीवासीलाई’ योजनाको दोस्रो चरणको काम सुरु

‘कर्णालीको पानी लम्कीवासीलाई’ योजनाको दोस्रो चरणको काम सुरु Ramaroshan
२०८२ असार २९ गते
‘कर्णालीको पानी लम्कीवासीलाई’ योजनाको दोस्रो चरणको काम सुरु

 धनगढी,२९ असार । कैलालीको लम्कीचुहा नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी घरघर पुर्‍याउने कार्यलाई तीव्रता दिइएको छ। सोही अनुरुप दोस्रो चरणको काम सुरु भएको छ ।

साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लम्कीको महत्वाकांक्षी योजनाका रुपमा ‘कर्णालीको पानी लम्कीवासीलाई’ आइतबार शिलान्यास गरिएको छ । योजनाकोे नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शिलान्यास गर्नुभएको हो ।

मन्त्री यादवले राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन सहलगानीमा निर्माण हुने खानेपानी आयोजनाले पूर्णता पाएसँगै उपभोक्ताको घरघरमा शुद्ध खानेपानी पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि समुदाय विकासको मुलधारबाट टाढा रहन सक्दैन, शुद्ध खानेपानी अपरिहार्य हो, यो योजनाले खानेपानीको स्थायी समाधान गर्ने छ ।”

मन्त्री यादवले वर्षात र ढल व्यवस्थापनलाई दृष्टिगत गरेर योजना सम्पन्न गर्न सुझाव दिनुभयो । उहाँले घोषणाभन्दा कार्यान्वयनमा जोड दिन सुझाउनुभयो। लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले खानेपानी योजनाबाट जनताले प्रत्यक्ष लाभ लिने बताउनुभयो ।

पहिलो चरण अन्तर्गत १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा ५ वटा कुवा निर्माण, साढे चार लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की, ३५ सय मिटर पाइपलाइन विस्तार, ओभरहेड ट्याङ्की र प्रशासनिक भवन निर्माणको ९० प्रतिशत पूरा भएको कार्यालय प्रमुख जगन्नाथ ढकालले बताउनुभयो ।

संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले लम्कीवासीलाई २४ घण्टा कर्णालीको पानी उपलब्ध गराउने उद्देश्यले खानेपानी योजनाको काम भइरहेको बताउनुभयो  । अध्यक्ष चलाउनेले भन्नुभयो “ बोरिङ गरी  जमिनमुनिबाट निकालेको खानेपानी प्रणाली दीर्घकालीन नदेखिएपछि धेरै अध्ययन र अनुसन्धान गरेर कर्णाली नदीलाई प्रमुख स्रोत बनाई यो योजना अघि बढाएका हौं । तीन चरणमा योजना निर्माण हुँदैछ । पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ र अब दोस्रो चरणको काम पनि सुरु हुन्छ ।”

दोस्रो चरणको कामको ठेक्का सम्झौता भइसकेको छ । कार्यालय प्रमुख ढकालले सुप्रिम जय माता जे.भी. काठमाडौंसँग २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपियाँमा ठेक्का भएको जनाउनुभयो ।

२०८२ असार २३ मा सम्झौता भएको दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुई वटा ओभर हेड ट्याङ्की, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुनेछ ।

यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो चरणको काम सम्पन्न भएसँगै कर्णालीको पानी लम्कीवासीलाई पुर्याउने योजनाले पूर्णता पाउने जनाइएको छ । यस खानेपानी योजनाले पूर्णता पाएसँगै १५ हजार घरधुरीमा २४ सै घण्टा कर्णालीको पानी घरको धारामा  पुग्ने अध्यक्ष चलाउनेले उल्लेख गर्नुभयो ।

२०७६-७७ सालमा लम्कीचुहा नगरपालिका अन्तर्गतको वडा नं. १,२,३ को बल्चौर, व्यवस्थितनगर र वडा नं. ५ को राजीपुर क्षेत्रका करिब १५ हजार घरधुरीमा कर्णाली पानी पुर्‍याउने उदेश्यका साथ डीपीआर गरिएको थियो । तत्कालिन समयमा ९० करोड लागत अनुमान गरिएको कर्णालीको पानी लम्कीवासीलाई खानेपानी योजनालाई तीन चरणमा विभाजन गरि निर्माण कार्यको सुरुवात २०८० फागुनबाट गरिएको हो ।

कुल लागतको ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत स्वयं खानेपानी संस्था र बाँकी रहेको ५ प्रतिशत स्थानीय सरकारले व्यहोर्ने गरी सह लगानीमा योजनाको निर्माण भइरहेको छ ।