मुक्त कमैयाको पुनःस्थापनाबारे स्थलगत अनुगमन
धनगढी,३२ असार । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरूमा पुनःस्थापनासम्बन्धी समस्या समाधानका लागि स्थलगत अनुगमन गरेको छ ।
समितिले गोदावरी नगरपालिका –१ अत्तरिया र जोशीपुर गाउँपालिका –३ रामनगरका शिविरमा पुगेर स्थलगत अवस्था अवलोकन गरेको हो । अनुगमनका क्रममा दुबै स्थानका मुक्त कमैयाले जग्गा प्राप्त गरे पनि कानुनी रूपमा प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।
गोदावरी नगरपालिका –१ मा रहेको शिविरका २२ परिवार र रामनगरका ४८७ परिवारले पुनःस्थापना समितिमार्फत जग्गाधनी पुर्जा प्राप्त गरे पनि ती जग्गाको श्रेस्ता मालपोत कार्यालयमा देखिएको छैन । श्रेस्ता नहुँदा परिवारहरूले आफ्नो नाममा कानुनी प्रक्रिया पूरा गर्न, ऋण लिन वा अन्य काम गर्न सकेका छैनन् ।
अनुगमनका क्रममा अत्तरियाका २१ परिवारले २०७१ असार ३ गते र एक परिवारले २०७४ माघ २ गते जग्गा पाएको प्रमाण भए पनि मालपोत कार्यालय, धनगढीमा त्यसको श्रेस्ता फेला नपरेको भेटिएको छ । यस्तै, रामनगरका ४८७ परिवारले २०६६ असार ४ गते प्राप्त गरेको जग्गाको पनि टीकापुर मालपोत कार्यालयमा श्रेस्ता छैन ।
अत्तरियाकी फूलमति डंगौंरा थारुका अनुसार श्रेस्ता नपाएको विषयमा मन्त्रालयले मालपोत कार्यालयलाई पत्राचार गरे पनि कार्यालयले स्थानीय तहको सिफारिस माग्दै प्रक्रिया अघि बढाएको छैन ।
रामनगरका परिवारले आफ्नो भोगचलनअनुसार प्रतिपरिवार पाँच कठ्ठा जमिनमा २०७७ सालदेखि कर तिरेको भए पनि कानुनी रूपमा अधिकार पाएका छैनन् । शिविरका भलमन्सा गणेश डगौंराका अनुसार मालपोत कार्यालयले जग्गासम्बन्धी फाइल टीकापुर पठाएको बताएको छ । तर त्यहाँ पुगेपछि कित्ता नम्बर मात्र उल्लेख भएको नक्सा मात्र फेला परेको छ ।

सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले दुबै स्थानमा पीडितहरूसँग छलफल गर्नु भएको थियो । उहाँले पूर्जा दिइएका जग्गाको श्रेस्ता मालपोत कार्यालयमा किन अद्यावधिक नभएको हो भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरिने बताउनुभयो । साथै, पुनःस्थापनासँग जोडिएका अन्य समस्या समाधानका लागि पनि उहाँले समितिले पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।
सामाजिक विकास समितिले, संसद सहयोग परियोजनाको सहयोग र संसदीय मामिला पत्रकार समाज सुदूरपश्चिमसँगको सहकार्यमा सो अनुगमन गरेको हो । सो अनुगमनमा प्रदेशसभा सदस्यहरु तुलसी देवकोटा, शिवराज भट्ट, कैलाश चौधरी र जानकी पौडेल कुँवरको सहभागिता रहेको थियो ।

