कैलालीको कैलारीमा ४४ लाखको तटबन्द ४४ दिन नपुग्दै भत्कियो

कैलालीको कैलारीमा ४४ लाखको तटबन्द ४४ दिन नपुग्दै भत्कियो Ramaroshan
२०८२ श्रावण ०२ गते
कैलालीको कैलारीमा ४४ लाखको तटबन्द ४४ दिन नपुग्दै भत्कियो

धनगढी, १ साउन /  कटानबाट खेत जोगाउनका लागि बनाइएको तटबन्ध खेतबाटै झरेको पानीले भत्किएको छ । कैलालीको कैलारी गाउँपालिका–७ स्थित बर्का वसन्ता र छटकपुर वसन्ताको बिचमा कटैनी नदीमा तटबन्ध बनाइएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको ४४ लाख रुपियाँ खर्चेर बनाइएको तटबन्धलाई खेतबाट आएको पानीले भत्काएको हो । १५ मिटर तटबन्ध भत्केको जनाइएको छ ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत १०८ मिटर तटबन्धन बनाएको थियो । गत जेठबाट निर्माणको काम सुरु भई असार पहिलो साता पूरा भएको वडा सदस्य टुनीराम चौधरीले जानकारी दिए । उनले उपभोक्ता समितिको कमीकमजोरीका कारण बेइज्जत भएको उल्लेख गरे ।

सुरक्षाका लागि बनाइएको तटबन्ध नै भत्केपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरूले तटबन्ध निर्माणमा आर्थिक हिनामिना भएको आरोपसमेत लगाएका छन् । स्थानीय बलबहादुर चौधरीले, “तटबन्धमा स्लोप बनाइएन । त्यसैले खेतबाट आएको बर्सातको पानीले तटबन्ध बगाएको हो ।”

पाँच फिट उचाइ बनाउने भनिएको तटबन्ध होचो बनाइएका कारण पनि भत्केको स्थानीयको गुनासो छ । होचो तटबन्ध बनाएर माटो, बालुवाको ड्याम उठाइ पाँच फिट पुर्‍याइएको उनीहरूले जिकिर गरेका छन् । भलमनसा बाबुराम चौधरीले तटबन्धका लागि उपभोक्ता समिति निर्माण गर्न बोलाएको वडा कार्यालयले पहिले नै समिति बनिसकेको कागज देखाएको बताए ।

बिग्रे, भत्केको ठाउँमा पुनः बनाउनका लागि समितिलाई भनिसकेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर टेकराज बिनाडीले बताए । बिग्रेको ठाउँमा मर्मत नगरे समितिलाई धरौटी फिर्ता नदिने बिनाडीको भनाइ छ । उपभोक्ता समितिले डिभिजन कार्यालयमा दुई लाख रुपियाँ धरौटी राखेको छ ।