मुक्तिको २५ वर्ष पूरा, मुक्त कमैयाको अवश्था अझै उस्तै
धनगढी,२ साउन । कमैया मुक्तिको दुई दशक नाघे पनि नेपालमा अझै दुई हजारभन्दा बढी मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा छन् । परिचयपत्र पाएर जग्गा नपाएका, परिचयपत्र बदर भएका र सट्टाभर्ना गर्नुपर्ने गरी अझै ठुलो सङ्ख्यामा मुक्त कमैया पुर्नस्थापनाको पर्खाइमा रहेका छन् । जमिनदारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।
कमैया मुक्तिको घोषणापछि सरकारले उनीहरूको पुर्नस्थापना र जीविकोपार्जनका लागि काम अगाडि बढाए पनि त्यसले पूर्णता पाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ र लुम्बिनी प्रदेशमा एक हजार २९३ गरी दुई हजार ३७५ मुक्त कमैयाको अझै पुर्नस्थापना हुन नसकेको मुक्त कमैया समाजले जानकारी दिएको छ । पुर्नस्थापना हुन नसकेका धेरै जसो मुक्त कमैया शिविर र बाटोको वरिपरि बस्दै आइरहेको जनाइएको छ । बाँकी मुक्त कमैयाको भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत पुर्नस्थापना हुने भनिए पनि कमैया पुर्नस्थापनाको काम आयोगको टिओआरभित्र परेको छैन । जमिन पाएकाहरुले पनि त्यो जमिन बाट आर्थिक कारोबार गर्न नपाएको गनासो गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ गरी पाँच जिल्लामा जग्गा पाउने मुक्त कमैया ९रातो र पहेँलो परिचयपत्र पाएका० को सङ्ख्या २७ हजार ५ सय ७० रहेका थिए । जसमध्ये हालसम्म २५ हजार १९५ मुक्त कमैयाको पुर्नस्थापना भइसकेको छ । दुई हजार ३७५ मुक्त कमैया भने पुर्नस्थापनाको पर्खाइमा छन् ।
कैलालीमा नौ हजार ७ सय ६२ जना मुक्त कमैयाले परिचयपत्र पाएका थिए । हालसम्म आठ हजार २२ जनाको पुनस्र्थापना भएको छ । सट्टाभर्ना गर्नुपर्ने चार सय, परिचयपत्र बदर भएका १७३ र विशुद्ध जग्गा नपाएका ३ सय ८० गरी ९ सय ५३ मुक्त कमैयाको पुनस्र्थापना हुन बाँकी रहेको छ । कार्यविधिमा टेकेर बाँकी मुक्त कमैयाको पुर्नस्थापनाको काम अगाडि बढ्ने भ’मि आयोग कैलालीले जनाएको छ ।
कमैया मुक्तिको २५ वर्ष पुगे पनि कतिपय मुक्त कमैयाले लालपुर्जा नपाएको अवस्था छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मनत्री मेघराज खड्काले कमैया पुर्नस्थापनाको कार्यलाई प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेकोले त्यसै अनुसार पुर्नस्थापनाको काम हुने जानकारी दिए । उनले प्रदेश सरकारले पनि केहि निती तथा कार्यविधी बनाएर अगाडी बढेको हुदाँ आगामी दिनमा त्यसको समाधान हुने बताए ।
कमैया मुक्तिको खुसीयालीमा मुक्त कमैयाले हरेक वर्ष यो मितिमा कमैया मुक्ति दिवस मनाउँदै आएका छन् । कैलालीमा मुक्त कमैया दिवसको अवसरमा जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले पालिकामा स्थानीय बिदा दिएका छन् । कमैया मुक्त घोषणा भएको लामो समय वितिसक्दा पनि कमैयालाई पुनः स्थापना, सामाजिक सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, जमिनको व्यवस्था गर्न नसकेको गुनासो अहिले पनि उस्तै छ ।

