कञ्चनपुरमा वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित

कञ्चनपुरमा वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित Ramaroshan
२०८२ श्रावण ०४ गते
कञ्चनपुरमा वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित

धनगढी,३ साउन / कञ्चनपुरका अधिकांश क्षेत्रमा रोपेको धान सुक्न थालेको छ । वर्षा नहुँदा रोपेको धान सुक्न थालेपछि कृषक चिन्तित बनेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, लालझाँडी, वेदकोटमा धान सुक्न थालेको छ । असारमा रोपाइँ गरेका कृषकले पानी नपर्दा धान सुक्न थालेको बताएका छन् । आकासे पानीका भरमा रोपाइँ गरेका शुक्लाफाँटा नगरपालिका–१० का कृषक कमला दमाईंले छ कट्ठामा रोपेको धान एक महिनासम्म पनि पर्याप्त पानी नपर्दा सुक्दै गएको दुःखेसो पोख्नुभयो ।

धान रोपाइँमा ट्याक्टरको जोताइ, मलखाद गरी नौ हजारभन्दा बढी लगानी खेर गाएको बताउनुभयो । यस्तै सोही ठाउँका भीम दमाईंले आठ कट्ठामा धान रोपेकोमा अहिले सुक्दै गएको दुःखेसो पोख्नुभयो ।

शुक्लाफाँटा नगरपालिकाका कृषि शााखा प्रमुख करनसिंह बुढाऐरले कृषकले धान रोपेपछि पानी पर्न छोड्दा उँचो स्थानमा धान सुक्न थालेको बताउनुभयो । समयमै पानी नपर्दा धानमा गबारो पनि देखिन थालेको उहाँले बताउनुभयो । नहरको सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसानले धान सुक्दै गएको दुःखेसो पोखेका छन् भने नहर पुगेका क्षेत्रमा समेत नहरको पानी लगाउन पालो नपुगेको भन्दै धान उत्पादन घट्नेमा चिन्ता गरेका छन् ।

यसपालि धान खेतीका लागि आवश्यक पर्ने वर्षा नहुँदा जिल्लाका विभिन्न क्षेत्रमा धान सुक्दै गएको कृषि प्राविधिकले बताएका छन् ।

केही दिनदेखि कञ्चनपुरमा पर्याप्त वर्षा नभएको महाकाली बेसिन कार्यालयका प्रमुख सञ्जयकुमार शाहले बताउनुभयो । उहाँका अनुसार आगामी आइतबारसम्म कञ्चनपुरमा वर्षा नहुने देखिएको छ । सोमबारदेखि भने केही वर्षा हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर रहेको छ । जिल्लामा ४८ हजार ४९६ हेक्टरमा धान खेती हुँदै आएको छ । जिल्लमा झन्डै १० हजार हेक्टरमा सिँचाइ सुविधा नपुगेको कृषि ज्ञान केन्द्र महेन्द्रनगर कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले बताउनुभयो ।