अछाममा लागुऔषध प्रयोगकर्ताको संख्या हालसम्मकै उच्च

अछाममा लागुऔषध प्रयोगकर्ताको संख्या हालसम्मकै उच्च Ramaroshan
२०८२ श्रावण ०४ गते
अछाममा लागुऔषध प्रयोगकर्ताको संख्या हालसम्मकै उच्च

धनगढी,३ साउन । अछाम जिल्लामा लागुऔषध दुर्व्यसनीको संख्या अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो तथ्यांकअनुसार प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। यो संख्या हालसम्मकै धेरै हो। जिल्ला प्रहरी कार्यालय अछाममा शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष ०८१र८२ मा एक महिलासहित ११ लागुऔषध दुर्व्यसनी पक्राउ परेको जानकारी दिए। तीमध्ये नौजनालाई मुद्दा चलाइएको छ।

आर्थिक वर्ष ०८०र८१ को तुलनामा ०८१र८२ मा लागुऔषध दुर्व्यसनीको संख्या ह्वात्तै बढेको देखिन्छ। ०८०र८१ मा तीनजना मात्रै पक्राउ परेकोमा गत आवमा त्यो संख्या झन्डै चार गुणाले बढेको हो। उनीहरूको साथबाट गाँजा, चरेस, खैरो हेरोइन र ट्रामाडोल बरामद भएको भण्डारीले बताए। अछाममा पहिलोपटक यति धेरै लागुऔषध दुर्व्यसनीमा संलग्नहरू पक्राउ परेपछि यसले अझै भयाभव रूप लिन सक्ने खतरा उत्पन्न भएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष ०८१र८२ मा गरिएको अपराध नियन्त्रण तथा शान्तिसुरक्षाको अवस्था जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा डिएसपी भण्डारीले वर्षभरि जम्मा १२३ मुद्दा प्रहरीमा दर्ता भएको बताए। जसमा १४६ अभियुक्त पक्राउ परेका र तीमध्ये विभिन्न मुद्दाका ३५ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए।

भण्डारीका अनुसार यी मुद्दामा नियन्त्रणमा लिइएकाहरूमा ६२ जना धरौटीमा रिहा भएका छन् भने १७ जना साधारण तारेखमा छुटेका छन्। प्रहरीको विवरणअनुसार अछाममा आर्थिक वर्ष ०८१र८२ मा दर्ता भएका कुल मुद्दामा ७५ मुद्दाका दोषी पक्राउ परेको देखिन्छ भने नौवटा मुद्दाका १५ जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। आर्थिक वर्ष ०८०र८१ मा म्याद सरेर आएका पुराना २२ मुद्दामध्ये दुई मुद्दाका दुईजनालाई मात्रै पक्राउ गरेको देखिन्छ। अन्य १२ अभियुक्त अझै फरार छन्। प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अछाममा आत्महत्या, फुटकर तथा भवितव्यका ३९ मुद्दा दर्ता भएका थिए। कर्तव्य ज्यानअन्तर्गतका दुई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू पीडित भएको कसुरका मुद्दा ३१, सवारी ज्यान मुद्दा चार, ४५ सवारी दुर्घटनामा ७४ घाइते, साइबर अपराध एक, आर्थिक लेनदेनका मुद्दा १३ र चोरीसम्बन्धी दुई मुद्दा दर्ता भएका थिए।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध भएका घरेलु हिंसाका ५३ मुद्दामध्ये ४६ वटा मिलापत्र गराइएको र सातवटा अदालत गएको डिएसपी भण्डारीले बताए। उनका अनुसार ८६ जना बेपत्ताहरूमध्ये ८१ जना सकुशल र एकजना मृत फेला परेका थिए। अझै पाँचजना भेटिएका छैनन्। अछाम प्रहरीले गत आर्थिक वर्षमा पक्राउ परेका १७ फरार प्रतिवादीबाट १५ लाख आठ हजार ४७८ रुपैयाँ जरीवाना असुल गरेको छ भने ट्राफिक जरीवानाबापत २० लाख ८५ हजार पाँच सय रुपैयाँ राजस्व असुल गरेको छ।

विभिन्न जनचेतनामूलक कार्यक्रमअन्तर्गत प्रहरीले आर्थिक वर्ष ०८१र८२ मा लागुऔषध नियन्त्रणबारे १९०, आत्महत्या न्यूनीकरणबारे १७५, सवारी दुर्घटना न्यूनीकरणबारे २७५, बालविवाहबारे ५५, बहुविवाहबारे १०, छाउपडीसम्बन्धी १९०, वन डढेलोबारे पाँच, डेंगुरोग नियन्त्रणबारे सात गरी जम्मा ९०२ कार्यक्रम गरेर तीन हजार ४२९ बढी स्थानीयलाई सचेत गराएको छ।