दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन Ramaroshan
२०८२ श्रावण ०५ गते
दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

धनगढी,४ साउन । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा रु दुई अर्ब ४१ करोड ७९ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु दुई अर्ब ३९ करोड चार लाख २२ हजार राजस्व सङ्कलन गरेको थियो । यसपटक आयकरमा १३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

प्रमुख कर अधिकृत पराजुलीका अनुसार आव २०८१र८२ मा रु ८५ करोड आठ लाख ६५ हजार आयकर सङ्कलन भएको छ । अघिल्लो आवमा रु ७५ करोड एक लाख ७२ हजार आयकर सङ्कलन भएको थियो ।

त्यसैगरी, ब्याजकरमा पनि २२ प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१र८२ मा रु दुई करोड ८९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा रु दुई करोड ५२ लाख ५० हजार सङ्कलन गरेको थियो । घरबहाल कर १२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । कार्यालयले आव २०८१र८२ मा रु एक करोड ३७ लाख ८० हजार घरबहाल कर सङ्कलन गरेको छ ।

अघिल्लो आवमा रु एक करोड २२ लाख ७७ हजार घरबहाल कर सङ्कलन गरेकामा कार्यालयले भ्याटमा रु ६० करोड ८८ लाख ६१ हजार र अन्तःशुल्कमा रु ९० करोड ९१ लख ७१ हजार राजस्व सङ्कलन गरेको छ । “यो आवमा आयकर बढेको छ, भ्याटमा कम छ”, प्रमुख कर अधिकृत पराजुलीले भन्नुभयो, “अन्तशुल्क कर बराबरी छ समग्रमा गत आवको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”

कार्यालयको रु १३ करोड राजस्व बक्यौता रहेको छ । “भ्याटमा रु नौ करोड र आयकरमा रु चार करोड बक्यौता बाँकी छ”, उहाँले भन्नुभयो, “बक्यौता रकमका लागि करदातालाई पसलमै गएर, फोनबाट जानकारी गराउने गरेका छौँ ।”

बक्यौता रकम नतिर्ने करदातालाई पटकपटक बक्यौता तिर्न प्रेरित गर्ने र नतिर्ने करदाताको पत्रपत्रिकामा सूचना निकाल्ने गरेको प्रमुख कर अधिकृत पराजुलीले बताउनुभयो । “पटकपटक ताकेता गर्दा पनि अटेरी गर्ने करदातालाई पत्रपत्रिकामा सूचना निकाल्ने र समयमै बक्यौता नतिर्नेको बैंक खाता रोक्कासमेत हुनसक्छ”, उहाँले भन्नुभयो । रासस