रैथाने बालीतर्फ छैन किसानको आकर्षण

रैथाने बालीतर्फ छैन किसानको आकर्षण Ramaroshan
२०८२ श्रावण ०५ गते
रैथाने बालीतर्फ छैन किसानको आकर्षण

धनगढी,४ साउन । मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै, कोदोसँगै डडेलधुरालगायतका पहाडी जिल्लामा केही वर्ष पहिलेसम्म फापर, चिनो दलहनमा गहत, भटमास, मास, मुसुरो, बोडी, गुराउस, सोट्टा, रयासलगायतका बालीको उत्पादन पनि खुबै हुन्थ्यो तर केही वर्षयता किसानले यी रैथाने बाली लगाउन छोड्दै गएका छन् । यी सबै खाद्यान्न र दलहन बालीको बिउ स्थानीयस्तरमा उत्पादन हुँदैन, ती सबै आयात गर्नुपर्ने बाध्यता रहेको छ । त्यसले पनि किसानको आकर्षण घटेको बताइएको छ ।

जङ्गली जनावर बँदेल, बाँदरको आतङ्क, बढ्दो बसाइँसराइ, परम्परागत रूपमै खेतीपाती, अन्न, बिउ भण्डारण र बिउ उत्पादन केन्द्र स्थापना नहुँदा बिउमा परनिर्भरता बढेको हो । डडेलधुराको अमरगढी नगरपालिका–७ मा डेढ दशकअघि नै बिउ बैङ्क स्थापना गरिएको थियो । केही वर्ष सञ्चालनमा आएको बिउ बैङ्कले पूर्वको झापालगायत देशभरि नै यहाँ उत्पादन भएको बिउ निर्यात ग¥यो । सङ्घीय व्यवस्थामा देश गएपछि बिउ बैङ्क सञ्चालनका लागि कुनै कार्यक्रम नआउँदा बन्द गर्नु परेको अमरगढी नगरपालिका–७ का अध्यक्ष एवं तत्कालीन बिउ बैङ्क सञ्चालक खडक बोहोराले बताउनुभयो ।

कृषिमा जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धनका लागि अमरगढी नगरपालिका सक्रिय भएको छ । नगरपालिकाको कृषि शाखाले स्थानीय किसानलाई बिउ संरक्षणका सामग्री वितरण गर्नुका साथै रैथाने बालीका विषयमा तालिमसमेत प्रदान गरेको छ । बिउको परनिर्भरतालाई कम गर्न अमरगढी नगरपालिका कृषि शाखाले कृषि जैविक विविधता संरक्षण तथा सामाजिक बिउ सुदृढ कार्यक्रम सञ्चालन गरेको छ । गत आर्थिक वर्ष २०८१र८२ मा नगरपालिकाको कृषि शाखाले अमरगढी नगरपालिकाका ११ वटै वडामा रैथाने बाली संरक्षणका लागि शतप्रतिशत अनुदानमा बिउ वितरण गरेको छ भने वडा ७ पोखरा क्षेत्रमा जैविक विविधता संरक्षण बिउ उत्पादनका लागि सहयोग गरेको कृषि शाखा संयोजक रमेश भण्डारीले जानकारी दिनुभयो ।

रैथाने बाली संरक्षणका लागि छ लाख रुपियाँ बराबरको कोदो, सिमी, कागुनो र चिनोको बिउ वितरण गरेको छ । जैविक विविधता संरक्षणका लागि पोखरामा पुरानो बिउ बैङ्कलाई करिब पाँच लाख बजेट खर्च गरेको उहाँले बताउनुभयो । पहाडी भूगोल र स्थानीय जलवायु अनुसार अतीतदेखि खेती गरिँदै आएका रैथाने बाली धान, गहुँ, कोदो, फापर, मुसुरो, चिनोलाई संरक्षण गर्न यो कार्यक्रम सुरु गरिएको हो । यस्ता बाली पोषणमा भरपुर, वातावरणसँग अनुकूल र जलवायु परिवर्तन प्रतिरोधी मानिन्छ ।

अमरगढी–७ की किसान सरस्वती भण्डारीले तालिम, बिउ राख्ने हार्मेटिक ब्याग, मल कुहाउन प्रयोग हुने इएम झोल पाएपछि सहज हुने बताउनुभयो । अमरगढी नगरपालिकाले थालेको यो पहलले केवल जैविक विविधता मात्रै जोगाउने छैन, यससँगै स्थानीय खाद्य प्रणालीलाई मजबुत बनाउँदै कृषक समुदायलाई आत्मनिर्भर बनाउने दिशामा महìवपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।