वर्षा भएपछि किसानलाई राहत

वर्षा भएपछि किसानलाई राहत Ramaroshan
२०८२ श्रावण ०६ गते
वर्षा भएपछि किसानलाई राहत

धनगढी,५ साउन । वर्षा भएपछि कैलालीका किसानलाई राहत भएको छ । लामो समयदेखि पानीको पर्खाइमा रहेका किसानलाई वर्षाले खुसी दिएको हो ।

पानी नपर्दा खेतमा धँजा फाट्नुका साथै धान सुक्न थालेको थियो । आइतबार बेलुकादेखि वर्षा भएपछि धानखेतीलाई फाइदा भएको किसानले बताएका छन् । वर्षाले राहत दिएको कृषक बलराम चौधरीले बताउनुभयो ।

रोपाइँको बेला वर्षा नहुँदा समस्या खेपेका किसानले रोपाइँ सकेपछि पनि पानी नपरेपछि समस्यामा परेका थिए । लामो समयसम्म पानी नपरेपछि धानखेती सिँचाइ गर्न थालेका उनीहरू पानी परेपछि खुसी भएका छन् ।

९१ हजार हेक्टर कृषियोग्य जमिन रहेको कैलालीमा ६७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यसवर्षको रोपाइँ सतप्रतिशत सम्पन्न भए पनि सुख्खाका कारण धानखेतीको अवस्था दर्दनाक बनेको थियो । बेलैमा पानी नपर्दा धानको वृद्धि, विकास रोकिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक विष्टले बताउनुभयो । उहाँले वर्षाले फाइदा गर्ने विचार व्यक्त गर्नुभयो ।