चुरेमा नयाँ हाकिमलाई हाजिर हुन रोक, सोतीलाई निमित्तको रूपमा राख्ने मौखिक सहमति
धनगढी,६ साउन । कैलालीको चुरे गाउँपालिका पछिल्ला केही महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ। शिक्षा शाखा प्रमुख विविराज सोतीलाई अध्यक्ष चक्र बोगटीले आफू अनुकूलको व्यक्ति भन्दै लामो समयदेखि निमित्तको जिम्मेवारीमा राख्दै आएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रामकृष्ण बिकलाई स्थायी प्रमुख प्रशासकीय अधिकृतका रूपमा चुरेमा खटाए पनि उनलाई अहिलेसम्म हाजिर हुन दिइएको छैन।
बिक चार दिनअघि पालिकामा हाजिर हुन जाँदा अध्यक्ष बोगटीले अनुमति नदिएको स्रोतको दाबी छ । स्रोतका अनुसार अध्यक्ष बोगटी र विविराज सोतीबिच २०८४ सालसम्मको कार्यकालभर सोतीलाई निमित्तको रूपमा राख्ने मौखिक सहमति भएको बुझिएको छ । सोही कारणले नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन रोकेको बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकले पालिकामा हाजिर हुन नपाएको बताए। ‘मैले हाजिर हुन चाहेको भए पनि अध्यक्षज्यूले अरू ठाउँ कसरी जान सकिन्छ भनेर सोध्नुभयो, अरू ठाउँ जाने भए सहयोग गर्छु भन्नु भयो । पछि सम्पर्क गर्छु भन्नुभयो, तर अहिले फोन पनि उठाउनु भएको छैन,’ उनले भने।
विकले हाजिर हुन नदिने भए पनि पालिकाबाट फिर्ता पठाउने आधिकारिक पत्र दिन अनुरोध गरेका थिए । उनले भने ‘फिर्ता पठाउने आधिकारिक पत्र दिन अनुरोध गरे तर अहिले सम्म दिएको छैन । यदि पालिकाले मलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेर पत्र पठायो भने अहिलेको निमित्त प्रमुखको जिम्मेवारी पनि रोकिन्छ।,’
चुरे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिमा पटक–पटक मन्त्रालयले अधिकृत पठाउँदा पनि अध्यक्ष बोगटीले आफू अनुकूलको व्यक्तिलाई मात्र राख्दै आएको आरोप छ । यसअघि पनि अधिकृतहरू पठाउँदा बोगटीले सोही शैली दोहोराउँदै आएको स्रोतको दाबी छ। यस विषयमा अध्यक्ष चक्र बोगटीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

