बैतडीमा बजेटको ठुलो हिस्सा फिर्ता, पुँजीगत खर्च ७० प्रतिशतभन्दा कम

बैतडीमा बजेटको ठुलो हिस्सा फिर्ता, पुँजीगत खर्च ७० प्रतिशतभन्दा कम Ramaroshan
२०८२ श्रावण ०८ गते
बैतडीमा बजेटको ठुलो हिस्सा फिर्ता, पुँजीगत खर्च ७० प्रतिशतभन्दा कम

 धनगढी,७ साउन ।सङ्घीय, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०८०/८१ मा बैतडी जिल्लामा करिब १६ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन गरेका थिए । तर सोमध्ये करिब १३ अर्ब मात्रै खर्च भएको छ भने करिब तीन अर्ब रुपियाँ खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

सङ्घीय सरकार मातहतका कार्यालयहरूका लागि गत आर्थिक वर्षमा आठ अर्ब सात करोड ६९ लाख रुपियाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो । तर त्यसको ८५.०८ प्रतिशत अर्थात् ६ अर्ब ८७ करोड ४६ लाख रुपियाँ मात्रै खर्च भएको र बाँकी १४.९२ प्रतिशत बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका सूचना अधिकारी हरिदत्त पाण्डेयले बताउनुभयो ।

सङ्घीय निकायतर्फ चालु खर्चमा ६ अर्ब २ करोड रुपियाँ विनियोजन भएकोमा पाँच अर्ब ४९ करोड रुपियाँ खर्च भएको र पुँजीगततर्फ २ अर्ब पाँच करोड रुपियाँमा एक अर्ब ३७ करोड रुपियाँ मात्र खर्च भएको जानकारी दिइएको छ । कुल पुँजीगत बजेटको ६६.८८ प्रतिशत मात्र खर्च भएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूमा सोही अवधिमा तीन अर्ब ३२ करोड १३ लाख रुपियाँ विनियोजन गरिएको थियो । तर दुई अर्ब ६१ करोड ६५ लाख रुपियाँ मात्र खर्च भएको छ । कुल बजेटमध्ये ७८.७८ प्रतिशत खर्च भएको हो भने २१.२२ प्रतिशत रकम फिर्ता भएको पाण्डेले बताउनुभयो ।

प्रदेश सरकारका कार्यालयहरूद्वारा चालु शीर्षकमा ९२ करोड ९४ लाख रुपियाँ विनियोजन भई ७६ करोड ६२ लाख रुपियाँ खर्च भएको छ । यस्तै पुँजीगततर्फ दुई अर्ब ३९ करोड १९ लाख रुपियाँमध्ये एक अर्ब ८५ करोड २ लाख रुपियाँ खर्च भएको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा भने पाँच अर्ब ३२ करोड रुपियाँ विनियोजन भएको थियो । तर चार अर्ब ५६ करोड रुपियाँ मात्र खर्च भएको हो । कुल खर्च ८५.८३ प्रतिशत छ भने १४.१७ प्रतिशत बजेट खर्च हुन नसकी फिर्ता भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।

स्थानीय तहमा चालु खर्चतर्फ तीन अर्ब ९० करोड रुपियाँमध्ये ३ अर्ब ५० करोड रुपियाँ खर्च गरिएको छ । यस्तै पुँजीगततर्फ एक अर्ब ४१ करोडमध्ये एक अर्ब ६ करोड रुपियाँ मात्र खर्च भएको छ । पुँजीगततर्फ खर्चको अनुपात ७५.०६ प्रतिशत छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका अनुसार बजेट खर्चमा सुधार भए पनि पुँजीगत खर्चको अनुपात अझै कमजोर देखिएको छ । खर्च गर्न नसकिएको बजेट भने तोकिएकै प्रक्रिया अनुसार फिर्ता पठाइएको जनाएको छ ।