चुरे बस्तीको सिँचाइ कुलो बहुउपयोगी

चुरे बस्तीको सिँचाइ कुलो बहुउपयोगी Ramaroshan
२०८२ श्रावण ०९ गते
चुरे बस्तीको सिँचाइ कुलो बहुउपयोगी

धनगढी,८ साउन ।चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ । भित्रीमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुँदै महाकाली नदीमा मिसिने रङ्गुन खोलाबाट पक्की कुलो निर्माण गरिएपछि खेतमा सिँचाइसँगै घरपालुवा जनावरलाई पानी खुवाउन र सरसफाइका लागि स्थानीयलाई सहज भएको छ ।

पक्की कुलो निर्माण गरिएपछि आलिताल गाउँपालिका–५ को भाँवर गाउँका ४० बढी घरधुरीको सयौँ रोपनी जमिनमा सहज सिँचाइको पहुँच भएको छ । साथै स्थानीयलाई अन्य कामका लागि पानी उपयोग गर्न सहज भएको स्थानीय गगन रावतले बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराको गत आर्थिक वर्ष २०८१/८२ मा २० लाख रुपियाँ लागतमा सुन्दर नगर तल्लो भावर सिँचाइ योजना निर्माण गरिएको थियो । चुरेको रङ्गुन खोलाबाट करिब ३२० मिटर लामो कुलो निर्माण गरिएको सुन्दरनगर तल्लो भाँवर सिँचाइ योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका रावतले बताउनुभयो ।

पक्की कुलो निर्माण गरिएपछि बेलाबेला ठाउँ ठाउँमा कुलो फुटेर पानी नआउने समस्याबाट मुक्त भएको उहाँले बताउनुभयो । पक्की कुलो निर्माण हुनुअघि यस क्षेत्रमा कच्ची कुलो थियो । कच्ची कुलो हुँदा ठाउँ ठाउँमा फुटेर पानी बग्ने भएकाले रोपाइँको सिजनमा एक जनाको दिनभरको काम कुलोमा पानी मात्रै ल्याउने हुन्थ्यो ।

उहाँले भन्नुभयो, “अहिले पक्की कुलो निर्माण गरिएपछि सो समस्याबाट मुक्त भएका छौँ । कुलोमा पानी निरन्तर आउने भएकाले घरपालुवा जनावरलाई पानी खुवाउनदेखि नुहाइधुवाई, लुगा धुन स्थानीयलाई सहज भएको छ । पक्की कुलो निर्माण गरिएपछि यस वर्ष चाँडै रोपाइँ सकिएको उहाँले बताउनुभयो । मुहानदेखि गाउँसम्म पक्की कुलो निर्माण गरिए पनि खेतसम्म पुगाउन नसकिएकाले अझै बजेट आवश्यक रहेको उहाँको भनाइ छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराका कार्यालय प्रमुख इन्जिनियर अमरबहादुर पालका अनुसार गत आर्थिक वर्षमा साढे २५ करोड बजेटका सिँचाइ र तटबन्धका गरेर २०६ वटा योजना रहेका थिए ।

यीमध्ये १४० वटा योजना सिँचाइका मात्रै थिए । योजना अनुसार सबै काम सम्झौता भएर सुरु भएको उहाँले बताउनुभयो तर असार मसान्तसम्म पाँच/छ योजनाको काम पूरा नहुँदा करिब दुई करोड रकम फ्रिज भएको जानकारी उहाँले दिनुभयो ।