जमिनै नभएको गर्भास्थित ‘शमशेरगन्ज दरवार’को पर्खालका निर्माणमा १० लाख खर्च

जमिनै नभएको गर्भास्थित ‘शमशेरगन्ज दरवार’को पर्खालका निर्माणमा १० लाख खर्च Ramaroshan
२०८२ श्रावण ०९ गते
जमिनै नभएको गर्भास्थित ‘शमशेरगन्ज दरवार’को पर्खालका निर्माणमा १० लाख खर्च

धनगढी,८ साउन । कैलालीको चुरे गाउँपालिका–४, गर्भामा वि.सं. १९८४ मा खड्क शमशेर जङ्गबहादुर राणाले ‘शमशेरगन्ज दरबार’ निर्माण गरे । हावापानी, मौसम र भौगोलिक रूपमा उपयुक्त स्थान भएकाले राणा शासकले गर्भालाई रोजेको थिए । त्यही ठाउँमा इँट्टा उत्पादन गरी मासको गारो लगाएर निर्माण गरिएको दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त दरबार तीन खण्ड र तीन तले छ । तत्कालीन राणा शासकले सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङसमेत बनाएका थिए । सुरुङ अहिले पुरिएको छ ।

राणा शासक पोत उठाउन खैराला दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैँनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेका थिए । राणाकालमा निकै चहलपहल हुने गर्भा दरबार २०३२ सालपछि सुनसान बन्दै गएको छ । उक्त दरबारमा २०३३ सालपछि कोही पनि बास बसेनन् । राणा परिवारका कोही नबस्ने भएपछि २०४२ साल जेठ ११ गते हिनुर शमशेर राणाले तत्कालीन खैराला गाउँ पञ्चायतको नाममा दरवारको सम्पूर्ण जमिन दान गरिदिए । दरवारको नाममा दस रोपनी १३ आना जमिन थियो । तत्कालीन प्रधानपञ्च कर्णबहादुर बोगटी थिए ।

यसैगरी प्रधानपञ्च कर्णबहादुर बोगटीले २०४३ साल पुस ३० गते ५ रोपनी ६ आना जमिन तत्कालीन बस्नेत प्राथमिक विद्यालयको नाममा पास गरिदिए । उनले दरवारको भवन आधा विद्यालयको नाममा र आधा गाउँ पञ्चायतको नाममा पर्ने गरी पास गरिदिए । अहिले दरवारको संरचना भए पनि दरवारको नाममा एक आना पनि जमिन छैन । विद्यालयले चाहेको खण्डमा आफ्नो क्षेत्र भित्र पर्ने दरवारको आधा भवन भत्काउन पाउने अधिकार छ ।

२०४२ सालमै श्री ५ सरकारबाट खैराला गाउँ पञ्चायतको भवन निर्माण र जग्गा खरिदका लागि ४० हजार बजेट आएको थियो । प्रधानपञ्च कर्णबहादुर बोगटीले गाउँ पञ्चायतको नाममा जग्गा किनेको भनेर गर्भा दरवारको जमिन देखाएर ४० हजार प्रयोग गरेको स्थानीय बुढापाका बताउँछन् । तर, अहिले जुन जमिन किनेको भनेर देखाइएको थियो । उक्त जमिन राणाले दान गरेर दिएको देखिएको छ । उनै कर्णबहादुर बोगटी चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीका बुवा हुन् । २०५९ सालमा खैराला गाविसको कार्यालयमा आगजनी भएपछि कागजपत्र जलेर नष्ट भएको थियो ।

जग्गा नै नभएको ठाउँमा घेरवार !
गत आर्थिक वर्ष दरवार संरक्षण गर्ने भनेर सुदूरपश्चिम प्रदेश अन्तरगतको पर्यटन इकाईले दस लाख बजेट छुट्याएको थियो । पर्यटन इकाईले दिएको १० लाखको बजेट दरवारको संरक्षणका लागि भनेर वरपर पर्खाल लगायो । पर्खाल पनि यसरी लगाइयो कि दरवारको नाममा जमिन छ कि छैन भन्नेसम्म पनि कसैले खोजी गरेनन् । १० लाख रुपैयाँ विनियोजन गरेर पर्खाल निर्माणको काम भइसकेको छ ।

निर्माण सकाएर भुक्तानी समेत भइसकेको छ । दरवारको नाममा जमिन नै नभएको थाहा भएपछि अहिले भुक्तानीको विषयलाई लिएर चर्को विरोध भइरहेको छ । स्थानीय सरोकारवालालाई नबुझी हचुवाको भरमा संरक्षणको नाममा बजेट खर्च गरेको स्थानीय नेता हेमबहादुर बिष्टले बताए । उनले भने,‘हाल दरवारको नाममा जमिन त के दरबारै समेत छैन ।’ दरवारको बीच भागबाट कित्ताकाट भएर बस्नेत प्राथमिक विद्यालयलाई दिइएको छ । अहिले दरबारको संरचनाबाहेक केही छैन । ’

दरवार संरक्षण गर्ने भन्दै विद्यालय र गाउँ पञ्चायतको पश्चिम पट्टीको जमिनमा पर्खाल लगाएको उनले बताए । उनले भने, ‘दरवार संरक्षण गर्ने भन्दै विद्यायल र गाउँपञ्चायतको जमिनमा पर्खाल लगाएको छ । दरवारको संरक्षणकै लागि हो भने त दरबारकै जमिनमा पर्खाल लगाउनु पर्ला । अरुको जमिनमा लगाएर त भएन् । बजेट सकाउनका लागि यो काम भएको हो ।’ यो सरासर भन्दा बजेट सिध्याउने प्रयोजन भएको बताउँदै उनले भनले भने,‘विद्यालय र पञ्चायतको जमिनको नक्सा भन्दा विपरीत गरिएको छ ।’ दरबारलाई सबैले कमाइ खाने भाँडोको रुपमा प्रयोग गरेको स्थानीय उत्तम गुरुङले बताए । उनले भने, ‘सबैको मिलेमतोमा बजेट हाल्ने र बजेट प्रयोग गरी कमाउने भाँडो बनाए । अहिले दरवार नै भत्किने अवस्थामा छ ।’

दरवारको संरचना संरक्षणका लागि मात्रै पर्खाल लगाएको पर्यटन इकाईका प्रमुख डबल बोहराले बताए । उनले भने, ‘दरवारको संरचना संरक्षणको लागि मात्रै पर्खाल लगाएको हो । कसको जमिन हो ? कसको नाममा छ ? त्यो हेर्ने काम हाम्रो होइन ।’ काम गर्ने क्रममा सम्बन्धित जग्गा धनीले निवेदन समेत नआएको उनले बताए । उनले भने,‘काम गर्ने क्रममा कसैले निवेदन दिएको भए काम रोक्ने थियौ । कसैले निवेदन दिएनन् ।’ दरवारको संरचना संरक्षणको लागि प्रदेश सरकारले बनाएको कार्यविधी अनुसार बजेट छुट्याएको र त्यही अनुसार काम भएको उनले बताए ।

पर्यटन इकाइले जमिन नभएको थाहा हुदाँहुदै भुक्तानी दिएको आरोप पनि लागेको छ । गत असारमा यो कार्य गलत भएको भनेर वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालालाई उत्तम गुरुङले निवेदन पनि दिएका थिए । उनै सचिवले सरोकारवाला पक्षसँग छलफल गरी यथार्थ कुरा बुझेर भुक्तानी गर्न पर्यटन इकाईका प्रमुख डवल बोहरालाई निर्देशन दिएका थिए । तर, अहिले तिनै सचिव भन्छन्, ‘पुरानो ऐतिहासिक दरवार हो । त्यसको नाममा जग्गा भए पनि नभए पनि संरक्षण पालिका र प्रदेश सबैले गर्नुपर्छ । जमिन दरवारको नाममा आउनु नआउनुले कुनै महत्व राख्दैन ।’

ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ६० लाख, आव २०७६/७७ मा ५० लाख बजेट विनियोजन गरेको थियो । तर, जग्गा विवादका कारण उक्त बजेट फिर्ता गएको थियो । यसपटक भने घेरबारका लागि आएको १० लाख बजेट विवादका बावजुद सकाइएको छ ।