डडेल्धुरामा एक वर्षमा २६ जनाले गरे झुन्डिएर आत्महत्या

डडेल्धुरामा एक वर्षमा २६ जनाले गरे झुन्डिएर आत्महत्या Ramaroshan
२०८२ श्रावण ११ गते
डडेल्धुरामा एक वर्षमा २६ जनाले गरे झुन्डिएर आत्महत्या

धनगढी,१० साउन । डडेलधुरामा बैङ्किङ कसुरका मुद्दा बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुरामा गत आर्थिक वर्ष २०८१र८२ मा मात्रै १९० वटा मुद्दा दर्ता भएका थिए। यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढी हो। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९र८० मा ९९ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०र८१ मा १२० वटा मुद्दा थिए।

दर्ता भएका १९० वटा मुद्दामध्ये १११ वटा मुद्दा फस्र्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टले बताए। उनका अनुसार ७९ वटा अनुसन्धान, मुद्दा दर्ता र अदालती प्रक्रियामा छन्। यीमध्ये आत्महत्या, भवितव्य ज्यानलगायतका मुद्दामा दुई वर्ष कुर्नुपर्ने कानुनी प्रक्रिया हुन्छ।

दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी घरेलु हिंसा, बैङ्किङ कसुर, अभद्र व्यवहार, लागुऔषध कारोबार, आत्महत्या, जबरजस्ती करणी र बालयौन जस्ता मुद्दा छन्। प्रहरीमा एक वर्षको अवधिमा घरेलु हिंसाका ४२ उजुरी आएकामा ३३ उजुरी प्रहरीमा फस्र्यौट भएका छन्। अन्यलाई अदालती प्रक्रियामा लगिएको थियो। महिला हिंसाका १४ वटा उजुरी परेकामा सबैको मिलापत्र गरिएको उनले बताए।


बैङ्किङ कसुरका ३२ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये २० वटा फस्र्यौट भइसकेका छन् भने बाँकी १२ मुद्दा विचाराधीन छन्। प्रहरी निरीक्षक विष्टका अनुसार चेक बाउन्स, ऋण असुलीका केस बैङ्किङ कसुरमा पर्छन्। त्यस्तै अभद्र व्यवहारसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये २५ मुद्दा फस्र्यौट भइसकेका छन् भने दुई वटा मुद्दा बाँकी छन्। सामान्य झगडा, गालीगलौज, हातपात र सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिविरुद्ध यस्ता मुद्दा दर्ता गरिन्छ। लागुऔषधका ११ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए। ती सबै मुद्दा फस्र्यौट भइसकेको प्रहरी निरीक्षक विष्टले बताए। प्रहरीको तथ्याङ्क अनुसार गत वर्ष मात्रै डडेलधुरामा झुन्डिएर आत्महत्या गरेका २६ घटना दर्ता भएका छन्। सामाजिक, मानसिक, आर्थिक र पारिवारिक कारण आत्महत्याको कारक हुने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ। यस्तै आत्महत्या दुरुत्साहनसम्बन्धी चार वटा मुद्दा दर्ता भएका छन्।

डडेल्धुरामा यौनजन्य हिंसाका घटना पनि वृद्धि भएको देखिन्छ। जबरजस्ती करणीका आठ मुद्दा दर्ता भएका छन्। तीमध्ये सात वटा मुद्दा फस्र्यौट भइसकेका छन् भने एउटा मुद्दा अदालतको प्रक्रियामा छ। बालयौन दुरुपयोगका चार वटा मुद्दा गत वर्ष दर्ता भएका छन। प्रहरीको तथ्याङ्क अनुसार जिल्लाको भित्री मधेश क्षेत्र आलिताल र परशुराम तथा जिल्ला सदरमुकामको बजार क्षेत्र अमरगढीमा बढी आपराधिक क्रियाकलाप हुने गरेका छन्। प्रहरीले पछिल्ला वर्षमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताएको छ।

प्रहरी विद्यालयमा पुग्ने, टोल र समूहमा छलफल आयोजना गर्ने, महिला समूहसँग सहकार्य गर्ने, स्थानीय तहसँग समन्वय गरेर सुरक्षामूलक प्रशिक्षण सञ्चालन जस्ता कार्यक्रम गरिएको प्रहरीको दाबी छ। व्यवहारमा भने यी कार्यक्रमको प्रभावकारिता निकै सीमित देखिएको छ।