कञ्चनपुरको पटेरा खल्लाबासीलाई बाढीकै त्रास

कञ्चनपुरको पटेरा खल्लाबासीलाई बाढीकै त्रास Ramaroshan
२०८२ श्रावण १२ गते
कञ्चनपुरको पटेरा खल्लाबासीलाई बाढीकै त्रास

 धनगढी,११ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटेरा खल्लाका बर्सेनी बाढीको त्रास भोग्दै आएका छन । करिब ४० परिवारको बसोबास रहेको यो वस्तीमा बर्सेनी बाढी पस्ने गरेकाले यस वर्ष पनि स्थानीय त्रासमा छन ।

गत वर्ष असार तेस्रो साता भीषण वर्षासँगै आएको बाढी बस्ती पसेपछि यहाँका ४० परिवार दुई सातासम्म विद्यालयमा बसेका थिए । यस वर्ष पनि गत वर्षकै अवस्था आउने चिन्तामा छन स्थानीय चक्रबहादुर शाही । जोगबुडा नदीमा जलस्तर बढ्ने बित्तिक्कै पोहोर सालकै जस्तो बाढी आउने चिन्ताले उनलाई सताइरहेको छ । 

‘बाहिर धान खेत पूरै बाढीले पटान ग¥यो, भित्र भकारीमा भएका धान गहुँ पनि भिजेर बिग्रिए,’ शाहीले भने, ‘कच्ची घर थियो त्यो पनि भत्कायो, बाख्रा र गाई पनि मरे ।’ उनका ४० बाख्रा थिए । ८ क्विन्टल धान र ५ क्विन्टल गहुँ सबै भिजेर कुहिएको थियो । त्यसपछि किनेरै खानुपरेको शाही बताउँछन् ।

कालिकोटको तिलागुफा नगरपालिकाबाट पहिरोका कराण विस्थापित भइ एक दशकअघि यहाँ पुगेका शाही बाढीका कारण बर्सेनि त्रसित छन् । बस्तीमा बाढी पसेपछि सबै नजिकैको विद्यालयमा आश्रय लिदै आएका छन । कतिपय आफन्त र छिमेकीको घरमा जान्छन् ।

‘नदी किनारमा पक्की तटबन्ध नबनेसम्म ढुक्क हुन सक्ने अवस्था छैन,’ इन्द्रबहादुर दमाईले भने, ‘पोहोरको बाढीले कच्ची घर भत्काएपछि अहिले धेरैले पक्की घर बनाएका छन् ।’ उनका अनुसार बर्सेनि बाढीको जोखिम भएकाले ऋण काढेर भए पनि पक्की घर बनाएको बताए ।

 पटेरा खल्ला बर्खामा जहिल्यै डुबान हुने क्षेत्र हो । विगतमा यहाँ बस्ती थिएन । सुकुम्बासीहरुले एकाएक छाप्रो बनाएपछि यहाँ बाक्लै बस्ती बनेको छ । तर बर्खायाममा जहिल्यै डुबान हुने भएकाले स्थानीय ढुक्क भएर बस्न सकेका छैनन् । जोगबुडा नदी किनारमा पक्की तटबन्ध निर्माण भएपछि मात्रै ढुक्क हुन सक्ने उनीहरु बताउँछन् ।