पानी नपर्दा धानबाली रोपेका किसान चिन्तित

पानी नपर्दा धानबाली रोपेका किसान चिन्तित Ramaroshan
२०८२ श्रावण १२ गते
पानी नपर्दा धानबाली रोपेका किसान चिन्तित

धनगढी,११ साउन । सुदूरपश्चिममा पर्याप्त पानी नपर्दा धानबाली सुक्न थालेपछि किसान चिन्तित भएका छन । प्रदेशमा धान रोपाइ सकिएको भए पनि पर्याप्त पानी नपर्दा खेत चिरा परेर धानबाली सुक्न थालेको छ । मनसुन सुरु भए पनि मनसुनी वर्षा सक्रिय नहुँदा किसानहरूले धान बाली जोगाउन बोरिङबाट पानी लगाउन थालेका छन् । जुन पर्याप्त नहुँदा धानबाली सुक्न थालेको गोदावरी नगरपालिका – ८ का किसान शंकर चौधरीले बताए । उनले बोरिबाट रोपाइ गरेको धान बालिका लागि पर्याप्त पानी नहुँदा सुक्न थालेको बताए ।

गोदावरी नगरपालिका – ६ का मान बहादुर चौधरीले पानी नपर्दा धानमा खैरो रोग लागेको बताए । डेढ बिगाहामा धान खेती गरेका उनले पानी नपर्दा खेतमा चिरा परेर धान सुक्न थालेर रोग लागेको बताए । ‘खैरो रोग लागेर धान सुक्न थालेको छ । जिङ्क हालेर पनि ठिक भएको छैन’ उनले भने ‘यसअघि पहिले यस्तो कहिले भएको थिएन यस वर्ष साउन महिनामा पनि पानी परिरहेको छैन ।’

कृष्णपुर नगरपालिका – ७ का राम किसान चौधरीले पानी नपर्दा धान सुक्न थालेको बताए । उनले बलौटे माटो भएकाले लामो समय देखि पानी नपर्दा धान सुक्ने अवस्थामा पुगेको बताए । कृषि प्राविधिक समेत रहेका उनले धान बालीमा अझै रोग नै लागि नसकेको भए पनि पानी नपरेर सुख्खा हुँदा धान सुक्ने अवस्थामा पुगेको बताए । पर्याप्त पानी नपर्दा धानमा झारपात बढी उम्रिने गरेको छ ।

यस वर्ष मनसुन भित्रिने सरदर मितिभन्दा १५ दिनअगाडि नै मनसुन भित्रिएको भनिए पनि पानी धान खेतीका लागि पर्याप्त पानी नपर्दा किसान चिन्तित बनेका छन् । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार असार १६ गते यता यस क्षेत्रमा ठुलो पानी नपरेको बताए । कार्यालयका प्रमुख सञ्जय कुमार साहले एकै पटक धेरै वर्षा हुने र त्यसपछि वर्षा नहुने समस्या बढेको बताए । जलवायु परिवर्तनको असरका कारण यस्तो समस्या हुन थालेको उनले बताए । ‘यो वर्ष असार १६ पछि ठुलो पानी परेको छैन,’ शाहले भने, ‘असार १६ गते २१२ मिलिमिटर वर्षा भएको थियो । त्यसपछि वर्षायाम जस्तो २÷३ दिन निरन्तर पानी परेको छैन ।’

कैलाली र कञ्चनपुरको अधिकांश रोपाइँ असार अन्तिम सातासम्म सकिएको थियो । साउनमा रोपाइँ गरिएका खेतमा जताततै मनसुनी झरीको पानी देखिनुपर्नेमा आकासे पानीको भरका खेत सुक्खा हुन थालेका छन् । यो वर्ष मनसुन विगतभन्दा १५ दिन अगावै भित्रिने मौसम तथा जलवायु विज्ञान विभागले पूर्वानुमान गरेको थियो । जेठ १५ मा पूर्वी नेपालबाट भित्रिएको मनसुन कोसी प्रदेशमा सीमित हुन पुग्यो । कमजोर मनसुनी प्रणाली प्रवेश गरेका कारण मनसुन देशको अन्य भागमा फैलिन नपाउँदै अन्यत्र डाइभर्ट भएको थियो ।

‘दोस्रो पटक जेठ २९ मा पुनः मनसुन भित्रियो, जुन कोसी, गण्डकी, मधेस, बागमती र लुम्बिनी प्रदेशको थोरै भूभागमा सीमित भयो,’ शाह भन्छन्, ‘असार ६ गते मात्रै सुदूरपश्चिमसहित देशभर मनसुन फैलिएको हो ।’ नेपालमा सरदर १३ जुन भित्र मनसुन भित्रिने गरेको छ । मधेस प्रदेशको अधिकांश भूभागमा वर्षा नभएर संघीय सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको अवस्थामा सुदूरपश्चिममा भने यसपालि सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको थियो । सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएका जिल्लामा तराई क्षेत्रका कैलाली र कञ्चनपुरसँगै डोटी, डडेलधुरा र अछाम रहेका छन् ।