प्रदेश सभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन

प्रदेश सभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन Ramaroshan
२०८२ श्रावण १३ गते
प्रदेश सभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन

 धनगढी,१२ साउन । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा उठेका विषयमा सात दिनभित्र जवाफ दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ । 

प्रदेश सभा सदस्यहरूले सभामा उठाएको विषयमा जवाफ दिन उहाँले प्रदेश सरकारलाई निर्देशन दिनु भएको हो । आइतबार र सोमबार गरी दुई दिनको बैठकमा समसामयिक विषयमा बोल्नका लागि प्रदेश सभा सदस्यहरूलाई समय उपलब्ध गराइएको थियो । 

आजको छलफलमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरीले किसानलाई तत्काल रासायनिक मलको व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मल नपाएर उत्पादन घट्ने चिन्तामा किसान रहेको भन्दै उहाँले प्रदेश सरकारले किसानका समस्या सुन्न नचाहेको जिकिर गर्नुभयो । त्यस्तै, किसानले चैते धानको मूल्य नपाएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।  

यसै गरी, चक्रबहादुर मल्लले चुरे क्षेत्र अतिक्रमणको चपेटामा परेको बताउनुभयो । उहाँले बेलैमा अतिक्रमणलाई नियमन र नियन्त्रण गर्न नसके त्यसले दीर्घकालीन असर गर्ने उल्लेख गर्नुभयो । चुरे अतिक्रमणले तराईको बस्ती र कृषियोग्य जमिनलाई सबैभन्दा बढी असर हुने उहाँको भनाइ थियो । मल्लले चुरे संरक्षणमा तीन तहकै सरकार उदासीन रहेको उल्लेख गर्नुभयो । 

प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले सुदूरपश्चिम प्रदेशमा महिला असुरक्षित भइरहेको बताउनुभयो । उहाँले महिला हिंसाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । यसै गरी, प्रदेशको प्रत्येक पालिकामा महिला सहायता डेस्क र सेफ हाउस सञ्चालन हुनुपर्ने शर्माले जोड दिनु भएको छ । उहाँले महिला हिंसा घटनाका अपराधीलाई तत्काल कानुनी कठघरामा उभ्याउन सक्नुपर्ने उल्लेख गर्नुभयो । शर्माले महालेखा परीक्षकको प्रतिवेदन सभामा प्रस्तुत गर्न प्रदेश सरकारलाई आग्रह गर्नु भएको छ ।