शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ४३ पुग्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ४३ पुग्यो Ramaroshan
२०८२ श्रावण १४ गते
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ४३ पुग्यो

धनगढी,१३ साउन । कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या ४३ पुगेको छ । मंगलवार विश्व बाघ दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित एक विशेष कार्यक्रममा बाघ अनुगमनको नतिजा सार्वजनिक गर्दै पाटे बाघको संख्या ४३ पुगेको घोषणा गरिएको हो ।

२०८१ कार्तिक १८ देखि पौष १० सम्म सञ्चालन गरिएको विस्तृत अनुगमनबाट उक्त नतिजा प्राप्त भएको जनाइएको हो । यो गणना नेपाल सरकारले जारी गरेको बाघ तथा आहारा प्रजातिको अनुगमन प्रोटोकलमा आधारित रहेर गरिएको थियो ।

निकुञ्जमा २१ वटा भाले र १९ वटा पोथी बाघ क्यामेराका आधारमा गणना भएका, यसबाहेक फिल्डमा खटिएका प्राविधिकहरूले प्रत्यक्ष देखेका तर क्यामेरामा कैद नभएका थप ३ वटा बाघलाई समेत जोडेर कुल संख्या ४३ पुगेको निकुञ्जले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, जेडएसएल नेपाल, हिमालयन नेचर लगायतका संस्थाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत, संरक्षणकर्मी, नेपाली सेना, विभिन्न सहयोगी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।