नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र दार्चुलाले एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री

नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र दार्चुलाले एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री Ramaroshan
२०८२ श्रावण १५ गते
नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र दार्चुलाले एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री

धनगढी,१४ साउन । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र दार्चुलाले एक वर्षमा पाँच करोडभन्दा बढीको विद्युत बिक्री गरेको छ । केन्द्रका कार्यालय प्रमुख आनन्द सापकोटाका अनुसार गत आर्थिक वर्ष २०८१(८२ मा यहाँका सात गाउँपालिका र दुई नगरपालिकाका २८ हजार ३८१ घरधुरीका २० हजार ५६३ ग्राहकलाई पाँच करोड पचहत्तर लाख एकासी हजार ९५५ रुपियाँमा विद्युत बिक्री गरिएको हो । गत आवमा मासिक ४८ लाखका दरले विद्युत बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रले मासिक एकाउन्न लाखका दरले वार्षिक छ करोड बाह्र लाख चौवालिस हजार १६८ रुपियाँ महशुल सङ्कलन गरेको उहाँले बताउनुभयो । गत आवमा जिल्लाका एक हजार ८६७ जना विद्युतका नयाँ ग्राहक थपिएका छन् । विद्युत चुहावट घटाउन विद्युत् चोरी गर्ने पाँच जनालाई कारबाही गरी २८ हजार ८२८ रुपियाँ जरिवाना गरिएको बताइएको छ । केन्द्रले गत आवमा २० दशमलव ८ किलोमिटर एलटी लाइन र १५ दशमलव २५ किलोमिटर ११ केभिए लाइन निर्माण र ९ थान नयाँ ट्रान्सफर्मर जडान गरेको उहाँले बताउनुभयो ।

जिल्लामा २ मेगावाट विद्युत् मात्रै खपत रहेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो । जिल्लाभरी अहिले पाँच वटा विद्युत् आयोजनाहरु चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट, माथिल्लो चमेलिया आयोजनाबाट ४० मेगावाट, मकरीगाड जलविद्युत् आयोजनाबाट १० मेगावाट, नौगाड खोला जलविद्युत् आयोजनाबाट ८ दशमलव ५ मेगावाट, माथिल्लो नौगाड खोला आयोजनाबाट ८ मेगावाट गरी ९६ दशमलव ५ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

थालिगाडमा दुई मेगावाटको साना जलविद्युत् आयोजना निर्माण हुने

जिल्लाको महाकाली नगरपालिका–६ र ७ को सीमाना भएर बग्ने थालिगाड खोलामा २ मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दार्चुलाको त्रिकाल पावर कम्पनी प्रालिले थालीगाड खोलामा उक्त आयोजना निर्माण गर्न लागेको कम्पनीका निर्देशक दिलिपसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

निजी क्षेत्रबाट निर्माण हुन् लागेको विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको उहाँले बताउनुभयो । अहिले आयोजना निर्माण हुने स्थानको जग्गा प्राप्तिको काम भइरहेको उहाँले बताउनुभयो । अध्ययन अनुसार आयोजनाको मुख्य भौतिक संरचना बाँध महाकाली नगरपालिका–६ मा रहने जनाइएको छ ।

अन्य सबै संरचना वडा नम्बर ६ र ७ मा रहने छन् । आयोजनाबाट उत्पादित बिजुली १ किलोमिटर लामो ३३ केभी लाइन मार्फत नेपाल विद्युत् प्राधिकरणको धाप सब स्टेसनमा जोडिने छ । आयोजनाबाट २०८३ वैशाख १० गते सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा ४० देखि ४५ करोड लागत लाग्ने अनुमान गरिएको छ ।