सुदूरपश्चिममा नचल्ने हाटबजार, योजना थपिएदै

सुदूरपश्चिममा नचल्ने हाटबजार, योजना थपिएदै Ramaroshan
२०८२ श्रावण १६ गते
सुदूरपश्चिममा नचल्ने हाटबजार, योजना थपिएदै

धनगढी, १५ साउन / सुदूरपश्चिम प्रदेश सरकारले यसअघि बनाएका हाटबजारमा कृषि बजार चल्न नपाउँदै नयाँ योजना थपिएका छन् । चालू आर्थिक वर्षसमेत हाटबजार बनाउन प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । कैलालीको बर्दगोरिया– ५ मा निर्माण गरिएको हाटबजार पाँच वर्षदेखि सञ्चालन हुन नपाउँदै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र कैलालीले सोही गाउँपालिकामा अर्को हाटबजार बनाउन बजेट व्यवस्था गरेको छ ।

प्रदेश सरकारले त्योसहित कैलालीमा तीन र कञ्चनपुरमा एक वटा हाटबजार निर्माण गर्न बजेट विनियोजन गरेको हो । प्रदेशले निर्माण गरेको हाटबजार र कृषि उपज संकलन केन्द्रहरु सञ्चालनमा रहेनरहेको यकिन नहुँदै कृषि मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा कृषि उपज संकलन केन्द्रहरु समेत निर्माण गर्ने गरी बजेट व्यवस्था गरेको छ । पहाडी जिल्लाहरुमा चार वटा संकलन केन्द्र बनाउने योजना बनाएको छ । हाटबजार निर्माणका लागि कैलालीको गोदावरीमा १० लाख, बर्दगोरियामा १० लाख, भजनीमा १५ लाख र कञ्चनपुरको पुनर्वासमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि उपज संकलन केन्द्र निर्माण गर्न अछामको रामारोशनमा १५ लाख, डोटीको शिखरमा १० लाख, बाजुराको बुढीन्दामा १५ लाख र बैतडीको पुर्चौंडीमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीले निर्माण गरिएको हाटबजार सञ्चालन नभएपछि चालू वर्षदेखि हाटबजार सञ्चालनका लागि अनुदान दिन ‘हाटबजार सञ्चालन सहयोग कार्यक्रम’का लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।