खेल अभियन्ता सुरेश हमालको विधिवत अन्त्यष्टि
कैलाली, १६ साउन / खेल अभियन्ता सुरेश हमालको अन्त्यष्टि गरिएको छ । आफ्नै गृहक्षेत्र भजनीको लालभोजीमा शुक्रबार हमालको विधिवत अत्यष्टि गरिएको हो । नेपाली काँग्रेस कैलाली क्षेत्र न ३ का सचिब समेत रहेका हमालको पार्थिव शरिरमा काँग्रेस कैलालीले चारतारे झण्डा तथा सुदूरपश्चिम ११ स्पोटर्स क्लबका सम्पूर्ण सदस्यहरुले सयुक्त रुपमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको हो ।
सुदूरपश्चिम ११ स्पोटर्स क्लबका अध्यक्ष अध्यक्ष एंव सुदूरपश्चिम खप्तड गोल्डकपकप मार्फत सुदूरपश्चिममा फुटबलको व्यवसायिकरण गर्न अथक मिहिनेत गरेका हमाल विगत १ वर्षदेखि बिरामी थिए । हमालको भारतको राममुर्ती मेडिकल कलेज भोजीपूरामा बुधबार निधन भएको हो । दुवै मृर्गौलाले काम गर्न थाडेपछि प्रत्यारोपणको तयारीमा जुटिरहेका बेला बुधबार हमालको मृत्यु भएको हो ।
खेल अभियन्ता हमालको असामयिक निधनले सुदूरपश्चिमको खेल क्षेत्र शोकमा डुबेको छ । खेल क्षेत्रका जानकारहरुले हमालको मृत्युले सुदूरपश्चिमको खेलक्षेत्रमा ठूलो नोक्सानी भएको बताएका छन । शुक्रबारको अन्त्यष्टिमा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रकाश देउवा,सुदूरपश्चिम खेलकुद परिषदका पूर्व सदस्य सचिव दिपक बहादुर सिंह,विभिन्न राजनितिक दलका प्रतिनिधि,विभिन्न खेलसँग सम्बन्धित पदाधिकारी,सुदूरपश्चिम ११ स्पोटर्स क्लब परिवार,खेलाडी,प्रशिक्षक,पत्रकार लगायत हजारौंको उपस्थिति रहेको थियो ।
हमाल सुदूरपश्चिम प्रदेशमा फुटबल गोल्डकपका सुरुवातकर्ता हुन्। सुदूरपश्चिममै पहिलोपटक उनी अध्यक्ष रहेको सुदूरपश्चिम ११ स्पोट्स क्लबले कैलालीको धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना गरेको थियो। उक्त प्रतियोगिताका छ वटा संस्करण आयोजना भइसकेको छ । तर पछिल्लो समय हमालको स्वास्थ्य बिग्रीएपछि भने गोल्डकप आयोजना हुन सकेको थिएन ।
२०७३ सालअघि नेपालको सुदूर पुर्वी जिल्ला इलामदेखि, सुनसरी, कास्की, चितवन, नेपालगञ्ज लगायतका स्थानमा बर्सेनि गोल्डकप फुटबलहरु सञ्चालन हुँदै आइरहेको थियो। तर, सुदूरपश्चिममा एउटा पनि गोल्डकप प्रतियोगिता भएको थिएन । २०७३ सालमा पहिलोपटक हमालकै अगुवाइमा धनगढीमा गोल्डकप आयोजना भएको थियो। मनाङ मस्याङ्दी क्लबले पहिलो संकरणको उपाधिमा कब्जा जमाएको थियो। सो संस्करणमा नेपालका १० र भारतका २ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।
हमालले आफ्नो पारिवारिक जिम्मेवारीलाई पछाडि राखेर खेलकुदमा लगानी गर्दै आएक थिए। उनले सुदूरपश्चिम ११ स्पोट्र्स क्लब मार्फत खेलाडीहरूलाई अवसर दिएका थिए । खेलाडीलाई वर्षभरि आफ्नै घरमा राखेर खाने, बस्ने र व्यावसायिक तालिमको पूर्ण व्यवस्था मिलाउने काम हमालले गर्दै आएका थिए ।
सुरेश सानो उमेरदेखि नै फुटबलका पारखी थिए। तर, परिवारको सल्लाहमा उनी मार्सल आर्टस्को प्रशिक्षण लिएका थिए । उनले थुप्रै राष्ट्रियस्तरका तेक्वान्दोका प्रतियोगितामा पनि आफ्नो कौशल देखाइसकेका थिए। सोही क्रममा उनले राखेपबाट २०५३ सालमा तेक्वान्दो प्रशिक्षकका रुपमा स्थायी नियुक्ति पाएका थिए । दुई वर्ष तेक्वान्दो प्रशिक्षण गराएपछि सरुवा घरबाट टाढा हुने भएपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए। तेक्वान्दो प्रशिक्षकबाट राजीनामा दिएपछि उनले आफ्नो गाउँ भजनीमा हिमालय फुटबल क्लबको स्थापना गरेका थिए । कैलालीका गाउँबाट गाउँबाट खेलाडी जुटाएर उनले हिमालयको टिम पनि बनाए भने प्रत्येक वर्ष प्रतियोगिता आयोजना गरेका थिए।
सुदूरपश्चिममा फुटबलको क्रेज देखाउन हमालले संघिय मन्त्रीदेखि लिएर एन्फाका तत्कालिन अध्यक्ष, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई पालैपालो प्रमुख अतिथि बनाएर गोल्डकपमा आमन्त्रण गरेका थिए । उनै हमाले सुदूरपश्चिम गोल्डकप मात्रै भित्र्याएनन यस क्षेत्रका दर्जनौं खेलाडीलाई देशका विभिन्न भागमा सञ्चालन भएका गोल्डकप खेल्ने अवसर समेत सिर्जना गरे । हमालकी श्रीमती एक छोरा र एक छोरी छन् । छोरा कक्षा १२ पास गरेर विगत एकवर्षदेखि बुवाको उपचारमा थिए भने छोरी बंंग्लादेशमा एमबिबिएस पढ्दैछिन ।

