गोदावरीमा यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यबारे नीति संवाद

गोदावरीमा यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यबारे नीति संवाद Ramaroshan
२०८२ श्रावण १८ गते
गोदावरीमा यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यबारे नीति संवाद

धनगढी,१७ साउन  /विकासका लागि युवा एक्यबद्धता ९यार्ड) द्वारा गोदावरी नगरपालिकासँग यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धमा नीति संवाद सम्पन्न भएको छ। कार्यक्रम यौन शिक्षा विषयमा चेतना फैलाउने र नीतिगत सुधारको मागसहित आयोजना गरिएको हो।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, महिला तथा बालबालिका शाखा अधिकृत गोदावरी खत्री, जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थित, वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरी, सदस्य जगनदेवी चौधरी, दुर्गालक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक ललन प्रशाद चौबे, समैजी माध्यमिक विद्यालयका प्रधानाध्यापक  बिन्दु कमारी बलायर  र विद्यालयस्तरीय बाल क्लबका प्रतिनिधि तथा पत्रकारको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले यौन तथा प्रजनन स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयमा समाजमा अझै खुला संवाद हुन नसकेको बताएका थिए। बाल क्लबका प्रतिनिधिहरूले विद्यालयमा वितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नहुने र पर्याप्त नभएको गुनासो राखेका थिए।

नगर उपप्रमुख रोकायाले अझै पनि यौन शिक्षा विषयमा चेतनाको कमी रहेको बताउँदै स्वास्थ्य शिक्षकमार्फत किशोर–किशोरीलाई सहज र उपयुक्त तरिकाले यस बिषयमा सिकाउने उपायहरू खोज्नुपर्ने धारणा बताएकी थिइन् । उनले विद्यालयस्तरीय बाल क्लबहरूलाई तालिम दिएर उनीहरूकै माध्यमबाट यौन स्वास्थ्य शिक्षा प्रवाह गर्न सकिने सुझाब दिइन्।

दुर्गालक्ष्मी माविका प्रधानाध्यापक ललनप्रसाद चौबेले विद्यालयमा आवश्यक मात्रामा प्याड वितरण भए पनि त्यसको प्रयोग र व्यवस्थापनमा समस्या देखिएको बताए। कार्यक्रममा सहभागीहरूले यौनिकता शिक्षा र प्रजनन स्वास्थ्यमा सामाजिक भ्रम हटाउन, विद्यालयमा गुणस्तरीय सामग्री तथा शिक्षक तालिम सुनिश्चित गर्न नीति निर्माण तहमै पहल गर्नुपर्ने बताए ।