सङ्घीयतापछि स्थापना भएका स्थानीय तहका न्यायिक समितिमा उजुरी बढ्दै

सङ्घीयतापछि स्थापना भएका स्थानीय तहका न्यायिक समितिमा उजुरी बढ्दै Ramaroshan
२०८२ श्रावण २० गते
सङ्घीयतापछि स्थापना भएका स्थानीय तहका न्यायिक समितिमा उजुरी बढ्दै

 धनगढी,१९ साउन । सङ्घीयतापछि स्थापना भएका स्थानीय तह गाउँपालिका र नगरपालिकाका संवैधानिक न्यायिक समितिमा ४१० थान उजुरी परेका छन् । २०७४ सालपछि यहाँका स्थानीय तहमा निर्माण गरिएको न्यायिक समितिमा हालसम्म सो सङ्ख्याका उजुरी दर्ता भई फस्र्योटसमेत भइसकेका छन् । स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा हुने न्यायिक समितिले फैसला गर्ने उजुरी दर्ता हुन आएको शैल्यशिखर नगरपालिकाका उजुरी प्रशासक मनोरथ जोशीले जानकारी दिनुभयो । 

न्यायिक समितिमा औपचारिक र अनौपचारिक गरेर दुई किसिमका उजुरी आउने गरेको उहाँले जानकारी दिनुभयो । जटिल किसिमका नभई सामान्य किसिमका उजुरी न्यायिक समितिमा पर्ने गरेका छन् । खास गरी सम्बन्धविच्छेद, सीमा विवाद, लेनदेन र खरफागाला (पशुपालनसम्बन्धी घाँस, दाउरालगायतका काम गर्ने ठाउँ) सम्बन्धीका उजुरी आउने गरेको महाकाली नगरपालिकाका उजुरी प्रशासक माधवप्रसाद भट्टले जानकारी दिनुभयो । महाकाली नगरपालिकामा आर्थिक वर्ष २०६७/७७ देखि हालसम्म ९२ थान उजुरी दर्ता भएकोमा ५९ थान उजुरी फस्र्योट भएको उहाँले बताउनुभयो । शैल्यशिखर नगरपालिकामा औपचारिक र अनौपचारिक रूपमा गरेर दर्ता भएका ६७ थानमध्ये ३६ थान उजुरी फस्र्योट भएको बताइएको छ । नेपालको संविधान २०७२ को धारा २१७ ले व्यवस्था गरे अनुसार कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरिएको हो । 

जिल्लाको दुहुँ गाउँपालिकामा आव २०७९/८० देखि हालसम्म २४ थान उजुरी दर्ता भएका छन् भने १८ थान उजुरी फस्र्योट गरिएको सूचना अधिकारी वीरेन्द्रराज जोशीले जानकारी दिनुभयो । अपिहिमाल गाउँपालिकामा आव २०७६/७७ देखि हालसम्म २३ थान उजुरी दर्ता भएकोमा १० थान उजुरी फस्र्योट भएका छन् । यस्तै लेकम गाउँपालिकामा दर्ता भएका १८ उजुरीमध्ये सबै उजुरी फस्र्योट भएको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक माधव जोशीले जानकारी दिनुभयो । 

व्यास गाउँपालिकामा आव २०७६/७७ देखि हालसम्म ३६ उजुरी दर्ता भएको उपाध्यक्ष विनोदसिंह कुवरले जानकारी दिनुभयो । दर्ता भएका उजुरीमध्ये ३३ थान उजुरी फस्र्योट गरिएको उहाँले बताउनुभयो । मालिकार्जुन गाउँपालिकाका उजुरी प्रशासक जनकराज अवस्थीका अनुसार दर्ता भएका ४५ थान उजुरी सबै फस्र्योट भइसकेका छन् । मार्मा गाउँपालिकामा दर्ता भएका ५२ उजुरीमध्ये ४४ उजुरी फस्र्योट गरिएको छ भने नौगाड गाउँपालिकामा हालसम्म दर्ता भएका ५३ उजुरीमध्ये १९ उजुरी फस्र्योट गर्न बाँकी रहेको उपाध्यक्ष एवं न्यायिक समिति संयोजक जगतसिंह ठगुन्नाले जानकारी दिनुभयो । दार्चुलामा सात गाउँपालिका र दुई नगरपालिका छन् ।