डबल डिग्रीको नाममा विद्यार्थी ठग्दै धनगढीका इन्स्टिच्युट, प्रशासनको छापापछि नयाँ भर्ना लिन बन्देज

डबल डिग्रीको नाममा विद्यार्थी ठग्दै धनगढीका इन्स्टिच्युट, प्रशासनको छापापछि नयाँ भर्ना लिन बन्देज Ramaroshan
२०८२ श्रावण २० गते
डबल डिग्रीको नाममा विद्यार्थी ठग्दै धनगढीका इन्स्टिच्युट, प्रशासनको छापापछि नयाँ भर्ना लिन बन्देज

धनगढी,१९ साउन । कैलालीमा डबल डिग्रीको नाममा विद्यार्थी ठग्ने नौ वटा इन्स्टिच्युटमा जिल्ला प्रशासन कार्यालय कैलालीले छापा मारेको छ । सिटिभिटिबाट निश्चित घण्टाको तालिम दिने अनुमति लिएर अवैधानिक रूपमा ११ र १२ कक्षामा भर्ना लिएर पढाइरहेका इन्स्टिच्युटहरूलाई प्रशासनले कारबाहीको दायरामा ल्याएको हो ।

छोटो अवधिका कोर्सकोे अनुमतिमा विद्यार्थीहरूलाई डबल डिग्रीको लोभ देखाएर २ वर्ष अल्झाउने गरेको भन्दै त्यस्ता इन्स्टिच्युटविरुद्ध प्रशासनमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा सहायक सिडिओ किरण जोशीको संयोजकत्वमा जिल्ला प्रशासन, शिक्षा कार्यालय, धनगढी उपमहानगरपालिका र सिटिइभिटीका प्रतिनिधि सम्मिलित पाचँ सदस्यीय अनुगमन समिति गठन भएको थियो ।

समितिले धनगढीका केही इन्स्टिच्युट छापा मारेपछि उनीहरू मार्फत थप अरू इन्स्टिच्युटहरू प्रशासनको सम्पर्कमा आएको सहायक सिडिओ किरण जोशीले जानकारी दिइन । उनका अनुसार अनुगमन गरिएका नौ वटा इन्स्टिच्युटका कागजपत्र नियन्त्रणमा लिएर प्रशासनले अनुसन्धान शुरु गरेको छ । ‘हामीले इन्स्टिच्युटका कागजपत्र लिएका छौ । कुन प्रोग्रामको लागि अनुमति लिएको र के प्रोग्राम चलाएको छ भनेर पत्ता लगाउँछौ । अवैधानिक गतिविधिहरू देखियो भने कारबाही हुन्छ,’ जोशीले भनिन् ।
अनुगमनका क्रममा केहीले विदेशी इन्स्टिच्युटबाट सम्बन्धन लिएको भन्दै उनीहरूको लोगो प्रयोग गरेर विद्यार्थीलाई भ्रमित गरेको समेत फेला परेको छ । सम्बन्धन आधिकारिक हो–होइन भन्ने विषयमा समितिले अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने स्थानीय प्रशासन शाखाका राम मुर्ती सिंहले जानकारी दिए । प्रशासनबाट लिएको तथ्याङ्क अनुसार प्रमाणपत्र लिएका नौ वटै इन्स्टिच्युट धनगढी उपमहानगर भित्रका हुन ।

जसमध्ये श्रीपेच एजुकेसन प्रालि, रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, ड्रे मिट इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट प्रालि, सहारा ट्रेनिङ इन्स्टिच्युट प्रालि, श्री इन्स्टिच्युट अफ हस्पिटालिटी एण्ड इन्फरमेसन टेक्नोलोजी, श्री किर्तीगंगा इन्स्टिच्युट अफ साइनस एण्ड टेक्नोलोजी, श्री टेक्निक्स अफ एडभान्स म्यानेजमेन्ट प्राक्टिसेज एण्ड लर्निङ एक्सीलेन्स प्रालि, नेक्सस इन्टरनेशनल एजुकेशन एण्ड ट्रेनिङ्ग सेन्टर र हिमालयन एजुकेसन ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालि रहेका छन् ।  हिमालयन यो वर्ष मात्रै सञ्चालनमा आएको हो । धनगढी केन्द्रित मात्र नभएर जिल्लाभर यो विषयमा अनुगमन गर्ने प्रशासनले जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटि) बाट सुदूरपश्चिममा झन्डै ४ सय संस्थाले अनुमति पाएका छन् । सिटिइभिटि सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी दिपा जोशीले पनि सिटिभिटिबाट मान्यता लिएका संस्थाहरूले बेथिति गरेको स्वीकार गरेकी छिन । ‘छोटो अवधिका तालिमलाई मात्र हामीले मान्यता दिने हो । जुन ६ महिना सम्मका हुन्छन् । पछि डिप्लोमा पनि हुनसक्छ । कुनै एकेडेमिक शिक्षालाई हामी अनुमति दिँदैनौ । तर यहाँबाट घण्टाको तालिमको मान्यता लिएर ११ तथा १२ पनि पढाइरहेको जानकारी हामीले पाएका छौ । यस विषयमा प्रशासन सँग मिलेर अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।

सिटिइभिटिले सामान्यतया १६ सय घण्टा सम्मको तालिमलाई अनुमति दिन्छ । जसमा ३ महिनाको तालिम शुल्क ३० देखि ३५ हजार सम्म मात्र लिन मिल्छ । तर सिटिइभिटिबाट मान्यताप्राप्त धनगढीका इन्स्टिच्युटहरूले मनोमानी शुल्क लिइरहेका छन् । एउटै कोर्सको १ लाख ५० हजार देखि २ लाख १२ हजारसम्म लिने गरेको पाइएको छ । यो विकृति होटेल म्यानेजमेन्ट सङ्कायमा बढी देखिएको अनुगमन समितिले जनाएको छ।

सिटिइभिटिबाट अनुमति लिएका यस्ता संस्थाको क्षेत्र छोटो अवधिका तालिमहरू सञ्चालन गर्ने मात्रै हो । तर यि इन्स्टिच्युटहरू विद्यार्थीलाई आफ्नो संस्थाबाट म्यानेजमेन्ट र फेसन डिजाइन कोर्ष पढाएर सरकारी विद्यालयमा ११र१२ कक्षाका लागि भर्ना गर्ने गरेका छन् । जुन कानुन विपरीत हो ।

विद्यार्थीहरू यसरी किनबेच भइरहेकोबारे स्वयम विद्यार्थी भने जानकार हुँदैनन् । प्रमुख जिल्ला अधिकारी गोगन कुमार हमालले कानुन विपरीत भइरहेका यस्ता कार्य रोक्न निर्देशन दिएको बताए । उनका अनुसार अब कुनै पनि छोटो अवधिको तालिम दिने संस्थाहरूले ११र१२ कक्षा पढाउन पाउने छैनन् । ‘सिटिइभिटिले मान्यता दिएका संस्थाहरूले सम्बन्धित विषयमा मात्रै तालिम दिन पाउने छन्। डबल डिग्रीका नाममा विद्यार्थी किनबेच गर्न पाउने छैनन्,’ हमालले भने ।

प्रशासनको निर्देशन पछि इन्स्टिच्युटहरूमा नयाँ विद्यार्थी भर्ना अभियान रोकिएको छ । रेडिकल एकेडेमीका सञ्चालक प्रकाश छेडालले आफ्नो संस्थामा भर्ना अभियान रोकिएको जानकारी दिए । उनले प्रशासनको निर्देशन पछि एसइई उत्तीर्ण नभएका विद्यार्थीहरूलाई तालिम दिने तर प्लस टु को प्रमाण पत्र दिलाउन अन्य विद्यालयमा भर्ना नगराउने बताए ।

तर श्रीपेचका सञ्चालक गणेश शाहीले भने प्लस–टु को एकेडेमिक प्रोग्रामका लागि आफूले एलाइन्स स्कुल खरिद गरेको बताए । त्यसमा विद्यार्थीलाई होटेल म्यानेजमेन्ट भर्ना गरेर श्रीपेचमा पढाउने उनले बताए । विद्यार्थीलाई एउटा संस्थामा भर्ना गरेर अर्कोमा पढाउनु तथा त्यसको प्रमाणपत्र दिनु समेत अवैध हुने प्रशासनले जनाएको छ। एउटा विद्यार्थीलाई एउटै समयमा दुई शैक्षिक संस्थामा भर्ना गराउन नपाइने कानुनी व्यवस्था छ ।