ठेकेदारको लापरबाही : शिवगङ्गा नदीमा पुल निर्माणमा ढिलाई

ठेकेदारको लापरबाही : शिवगङ्गा नदीमा पुल निर्माणमा ढिलाई Ramaroshan
२०८२ श्रावण २२ गते
ठेकेदारको लापरबाही : शिवगङ्गा नदीमा पुल निर्माणमा ढिलाई

 धनगढी२१ साउन । ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो ।  

पथरीस्थित सो नदीमा पुल निर्माणका लागि आठ वर्ष अगाडि नै ठेक्का लगाइएको थियो । तर ठेक्का लागेको दशक पुग्न लागे पनि निर्माण कम्पनी पप्पु एडभेञ्चर जेभीले अहिलेसम्म पुलको फाउण्डेशनसमेत तयार पार्न सकेको छैन । पुल नबन्दा वर्षातको समयमा आवतजावत गर्नेलाई सास्ती भोग्नु परिरहेको छ । 

पुल निर्माणलाई ठेकेदारले वास्ता नगरेको स्थानीय राकेश चौधरीले बताउनुभयो । आठ वर्षसम्म ठेकेदारले पुल निर्माणका लागि खाल्डो खन्ने काममात्रै गरेको भन्दै उहाँले थप्नुभयो,“त्यो खाल्डो पनि पुरिएको छ । ठेकेदारलाई वास्तै छैन ।”

शिवगङ्गा नदी पुल निर्माणका लागि २०७४ असार २७ गते ठेक्का भएको थियो । २०७७ असार २५ गतेभित्र पुल निर्माण गरिसक्नू पर्ने थियो । तर, अहिलेसम्म फाउण्डेशनसमेत तयार भएको छैन । संगै ठेक्का भएको सोही वडास्थित खुटिया नदी पुल निर्माणको काम चार वर्ष अगाडि नै सम्पन्न भइसकेको छ । 

पुल बन्ने स्थानमा हाल कुनै पनि काम नदेखिए पनि निर्माण कम्पनीले ३० प्रतिशत काम पूरा गरेको भन्दै तीन करोड १३ लाख ७२ हजार रुपियाँ भुक्तानी लिइसकेको छ । कुल १४ करोड २६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको पुल १६० मिटर लामो बन्ने जनाइएको छ । सङ्घीय सरकारको लगानीमा बन्ने पुलको फाउण्डेशन यसअघि बनाएको निर्माण कम्पनीले दाबी गर्ने गरेको छ । तर, अहिले फाउण्डेशन नै नभेटिएकाले निर्माण कम्पनीसंग पुलको अर्को डिजाइन माग गरेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले बताउनुभयो । 

“त्यो ठाउँमा फाउण्डेशन नै भेटिएन”, उहाँले थप्नुभयो, “त्यसैले त्यस ठाउँमा अब पुल बन्न नसक्ने भन्दै हामीले २५÷५० मिटर दूरीमा अन्यत्र पुल निर्माणका लागि नयाँ डिजाइन माग गरेका छौं ।” 

ठेकेदार चन्द्रशेखर मल्लले भने साविककै स्थानमा पुल बनाउन पाउनु पर्ने माग गर्दै मुद्दामामिला गर्न खोजिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । “ठेकेदारले मुद्दामामिला गर्न खोजे पनि पहिलेको डिजाइनमा अब पुल बन्दैन”, प्रमुख यादवले भन्नुभयो,“यदि, नयाँ डिजाइन दिइएन भने त्यो कम्पनीसंग ठेक्का सम्झौता तोडेर फेरि अर्को ठेक्का आह्वान गर्छौं ।”

कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर जाने बाटोमा पर्ने सो नदीमा पुल नबन्दा स्थानीयसहित तीर्थ यात्रीहरुले सास्ती खेप्दै आएका छन् । सो बाटो भएर वडा नम्बर १६ को रामपुर, घसिटा लगायत विभिन्न गाउँका स्थानीयले ओहोरदोहोर गर्ने गरेका छन् ।